काठमाडौं । नेपाली सेनाले राष्ट्रिय गौरवको आयोजना काठमाडौं -तराई द्रूतमार्ग वैशाख २०८१ मा सम्पन्न हुने दावि गरेको छ ।
सोमबार राजधानीमा आयोजित कार्यक्रममा सेनाले २०८१ वैशाखमा आयोजनाको काम सम्पन्न भई सवारी साधन चल्न थाल्ने दावि गरेको हो ।
द्रूतमार्गको तोकिएको अवधिमै काम पुरा गर्न सडक संरचना, पुलको एकीकृत प्याकेज गुरुयोजना बनाएर अघि बढ्ने तयारी भएको आयोजना प्रमुख प्राविधिक सहायकरथि शरदलाल श्रेष्ठले जानकारी दिए ।
चालु आर्थिक वर्ष यस आयोजनाका लागि मात्र सरकारले १४ अर्ब रूपैयाँ विनियोजन गरेको छ । त्यसमध्ये पहिलो चौमासिकमा मात्र ६ करोड रूपैयाँ खर्च भएको छ।
पहिलो चौमासिकमा कागजी काम बढी हुने भएकाले बजेट खर्च कम हुने उनले उल्लेख गरे । सुरुङमार्ग र पुलको काम सुरू भएपछि खर्चले समेत गपत लिने उनको भनाई छ ।
अहिले पुलको ठेक्काको मूल्यांकन भइरहेको छ। आयोजनामा कुल ८७ वटा पुल बन्ने छन् । त्यसमध्ये ७१ वटा नेपाली निर्माण कम्पनी र बाँकी १६ वटा विदेशी कम्पनीले बनाउने छन् । द्रुत मार्गमा पुलको मात्रै लम्बाई १०.५९६ किलोमिटर हुने भएको छ ।