५ पुससम्म १८ वर्ष पुगेका नेपाली नागरिकले आगामी निर्वाचनमा मत हाल्न पाउने

काठमाडौं । गत पुस ५ सम्म १८ वर्ष पुगेका नेपाली नागरिकले आगामी आम निर्वाचनमा भोट हाल्न पाउने भएका छन् । निर्वाचन आयोगेले राजपत्रमा सूचना प्रकाशित गर्दै यस्तो जानकारी गराएको हो । पुस ५ गतेसम्म १८ वर्ष पुगेका र मतदाता नामावलीमा नाम भएका व्यक्तिले मात्र आगामी वैशाख १७ र २७ गते तोकिएको निर्वाचनमा मतदान गर्न पाउने आयोगले जनाएको छ ।

यद्दपी निर्वाचन हुने वा नहुने भन्ने अन्यौलमै छ । एकातर्फ संसद विघटनको मुद्दा अदालतमा विचाराधिन छ । अर्कोतर्फ स्वयमः आयोग पनि नेकपाको विवादमा अन्यौलमै छ । तर, आयोगले आन्तरिक तयारी थाल्दै मतदाताको टुंगो लगाएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गएको पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेकी छन् । सरकारले निर्वाचनबाट स्थिरता आउने दावि गरेपनि संविधान विपरित काम भएको भन्दै उत्पन्न विरोधका स्वरले अस्थिरता निम्त्याउने देखिएको छ ।