काठमाडौं । आन्तरिक उडानमा जेष्ठ नागरिकले ५० प्रतिशत छूट पाउने भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले उक्त घोषणा गरेका हुन् ।
सोमबार मन्त्री भट्टराईले १४१ बुँदे कार्ययोजना सार्वजनिक गर्दै तीन महिनापछि जेष्ठ नागरिकलाई ५० प्रतिशत हवाई भाडा छूट दिने घोषणा गरे ।
आन्तरिक उडानमा ७० प्रतिशत भन्दा माथि उमेर पुगेका नागरिकले ५० प्रतिशत भाडा छूट पाउने मन्त्री भट्टराईले उल्लेख गरे ।
वायुसेवा कम्पनीहरुसँगको छलफलमा यो योजना कार्यान्वयनमा ल्याइने उनको भनाइ रहेको छ ।
सरकारले अन्तर प्रदेश उडानलाई प्राथमिकता दिएर काठमाडौंको उडान चाप घटाउने योजना समेत सार्वजनिक गरेको छ ।
प्रदेशका राजधानी जोडिने गरी निजी वायुसेवा कम्पनी र नेपाल वायुसेवा निगमसँग छलफल गरी अन्तर प्रदेश हवाई सेवा सञ्चालनको योजना रहेको भट्टराइको कार्ययोजनामा उल्लेख गरिएको छ ।
काठमाडौंबाट साना जहाजलाई कम गरी ठूला जहाजलाई प्रोत्साहन दिने योजना रहेको छ । काठमाडौंमा ७० सीट र सोभन्दा माथिका जहाजको उडानमा प्रोत्साहन गर्ने नीति सरकारले लिने भएको छ ।
यस अवधिमा सरकारले ठूला विमानस्थल आयोजनालाई अगाडी बढाउने उल्लेख गरेको छ ।
त्रिभुवन विमानस्थलमा अब सम्माननीयहरुलाई मात्र गाडसहित जान दिने निर्णय मन्त्रालयले गरेको छ । १५ दिन भित्रै यसको कार्यानवयन हुने भएको छ ।