मनाङ। नियमित जहाज उड्न बन्द भएको ७ वर्षपछि मनाङमा जहाज पुगेको छ । समिट एयरको जहाजबाट शुक्रबार मनाङमा सफल उडान भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले यो विमानस्थल पीच गरेपनि यात्रुको अभावले कम्पनीहरु आकर्षित हुन सकेका थिएनन् ।
प्रदेश सरकारको पहलमा शुक्रबार पोखराबाट मनाङमा समिट एयरको जहाज पुगेको छ ।
जहाजमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रदेशका पर्यटन मन्त्री विकास लम्साल, मनाङका सांसद पोल्देन छोपाङलगायत १५ जना यात्रु रहेका थिए ।
शनिबार बिहान साढे सात बजे उडेको जहाज करीव २० मिनेटको उडान भित्रै मनाङ पुगेको थियो । सडक यातायातको व्यवस्था भएपछि यस विमानस्थलमा यात्रुको अभाव रहेको छ ।
यस विमानस्थललाई स्थानीयबासी भन्दा पनि पर्यटक आकर्षित गर्ने विमानस्थलका रुपमा उपयोग गर्न सकिने प्रदेश सरकारको अपेक्षा छ ।
मुख्यमन्त्री गुरुङले समेत पर्यटकको बढी चाप हुने मौसममा नियमित जहाज उडानको योजना रहेको जानकारी दिए ।
विस २०३९ सालमा संचालनमा आएको यो विमानस्थल २०७० सालयता भने बन्द अवस्थामा रहेको थियो ।
पछिल्लो समय प्रदेश र स्थानीय सरकारहरु सक्रिय भएपछि बन्द अवस्थामा रहेका विमानस्थल पुनः संचालनको होडबाजीमा रहेका छन् ।