न्यूयोर्क
अमेरिकामा चुनाव नजिकिँदै जाँदा राष्ट्रपति डोनाल्ड ट्रम्पको क्याम्पेन आर्थिक संकटमा परेको छ । नगद अभाव भएपछि कतिपय प्रतिश्पर्धी राज्यबाट ट्रम्पले विज्ञापनको बजेट नै कटौति गरेका छन् ।
ट्रम्पले आफ्नो दोस्रो कार्यकालका लागि अति महत्वपुर्ण राज्य फ्लोरिडामा चुनावी प्रचारका लागि छुट्याएको २० लाख बढि डलर गत साता स्थानान्तरण गरेका थिए । चुनाव अघिको अन्तिम साता फ्लोरिडाबाट उक्त रकम स्थानान्तरण गरिएसँगै त्यहाँ ट्रम्पको विज्ञापन प्रशारण घटेको छ ।
चुनाव अघिको अन्तिम साता ट्रम्प क्याम्पेन र रिपब्लिकन नेशनल कमिटीले सम्युक्त रुपमा २९ लाख डलर बराबरको विज्ञापन फ्लोरिडामा प्रशारण गरि रहेका छन् । प्रतिश्पर्धी जो बाइडेन क्याम्पेन एवं डेमोक्रेटिक नेशनल कमिटीले त्यसको दोब्बर बढि ६८ लाख डलरको विज्ञापन प्रशारणका लागि टेलिभिजनहरुसँग सम्झौता गरेका छन् ।
फ्लोरिडामा दुई प्रतिशत बिन्दुभन्दा कमको जितले सन् २०१६ मा ट्रम्पलाई राष्ट्रपति निर्वाचित गराउन महत्वुर्ण भूमिका खेलेको थियो । यसपाली मत सर्भेक्षणहरुमा उनी बाइडेनसँग लगातार पछि परेका छन् । फ्लोरिडा हारेको खण्डमा ट्रम्पको निर्वाचन जित्ने सम्भावना लगभग अन्त्य हुनेछ ।
शुक्रबार विहानसम्ममा फ्लोरिडामा ७८ लाख बढि मत खसि सकेको छ । यो संख्या सन् २०१६ मा खसेको कुल मतको ८२ प्रतिशत बराबर हो । अहिलेसम्म पार्टी रजिष्ट्रेसन अनुसार डेढ लाख बढि डेमोक्र्याटले भोट खसाएका छन् । ‘मेल इन ब्यालेट’मा डेमोक्र्याटको सानदार अग्रता छ भने ‘अर्लि भोट’ खसाउनेमा रजिष्टर्ड रिपब्लिकन धेरै छन् । फिर्ता हुन बाँकी ‘मेल इन ब्यालेट’मा पनि डेमोक्र्याट पौने दुई लाख हाराहारी छन् । फिर्ता हुन बाँकी सबै ‘मेल इन ब्यालेट’ आइपुग्दा कुल खसेको भोट ९५ लाख नाघ्नेछ । त्यो अवस्थामा पार्टी रजिष्ट्रेसन अनुसार तीन लाख बढि डेमोक्र्याटले भोट खसाउनेछन् । तर, कुनै पनि पार्टीमा आवद्ध नरहेका लाखौँ मतदाताले कसलाई रोजे भन्ने टुङ्गो छैन । पार्टीका रजिष्टरहरुले पनि आफ्नै दललाई मात्र भोट हाल्छन् भन्ने हुँदैन । त्यसैले मत खसेकै आधारमा फ्लोरिडामा कसले जित्यो भनेर आँकलन गर्न सकिँदैन । सन् २०१६ मा फ्लोरिडामा ९५ लाख हाराहारी मत खसेको थियो । यसपाली सहजै एक करोड नाघ्ने आँकलन गरिएको छ ।
सन् २०१७ को जनवरी २० मा राष्ट्रपतिय सपथ ग्रहण गरे लगत्तै ट्रम्पले दोस्रो कार्यकालका लागि चुनाव लड्न चन्दा उठाउन थालेका थिए । तर, चुनावको मुखमा आइपुग्दा उनको क्याम्पेन वेखर्ची बनेको छ । मितव्ययी एवं रणनीतिक वित्तिय योजनाको अभावमा ट्रम्प क्याम्पेनले आर्थिक संकट झेलेको विश्लेषकहरुको टिप्पणी छ ।
सेप्टेम्बरको चन्दा संकलनमा बाइडेनले ट्रम्प क्याम्पेनलाई २०० मिलियन (२० करोड) अमेरिकी डलरले उछिनेका थिए । अक्टुबर सुरुमा बाइडेन क्याम्पेनको बैंक खातामा १७७ मिलियन थियो । जुन त्यसबेला ट्रम्प क्याम्पेनसँग रहेको नगदभन्दा तीन गुणा बढि हो । अक्टुबर सुरुमा ट्रम्प क्याम्पेनसँग ६३ मिलियन मात्र थियो । सेप्टेम्बरमा बाइडेनले ट्रम्पभन्दा दोब्बर टिभी विज्ञापनमा खर्च गर्दा पनि उनको क्याम्पेनसँग त्यति रकम बचेको थियो । सेप्टेम्बरमा बाइडेनले १७३ मिलियन डलर टिभी विज्ञापनमा खर्च गरेका थिए भने ट्रम्पले ६९ मिलियन डलर मात्र खर्चिन सके ।
वहालवाला राष्ट्रपतिको रुपमा पुनः निवार्चन लड्दा आर्थिक संकट भोग्ने पछिल्लो समयका थोरै उम्मेद्वारमा ट्रम्प परेका छन् । सन् २०१२ को यहि समयमा तात्कालिन राष्ट्रपति बाराक ओबामा क्याम्पेनको खातामा १०० मिलियन डलर थियो । उनका प्रतिश्पर्धी मिट रोम्नीसँग भने अहिले ट्रम्पसँग भए बराबरकै नगद मौज्दात थियो ।
ट्रम्पको आँफैलाई झूठो आश्वासन
ट्रम्पले आफ्नो क्याम्पेनलाई चाहिए १०० मिलियन डलर आफ्नै पैसा हाल्ने सेप्टेम्बरमै बताएका थिए । ब्लुमबर्ग न्यूजले यो समाचार ब्रेक गरेपछि पत्रकारको प्रश्नको जवाफ दिँदै उनले आवश्यक परे पैसा हाल्न तयार रहेको दावी गरे । तर, पैसा अभाव भएर अति प्रतिश्पर्धी राज्यको विज्ञापन खर्च कटौती गर्नुपर्दा पनि उनले क्याम्पेनका लागि लगानी गरेका छैनन् ।
पुनः निर्वाचनका लागि ट्रम्पले आफ्नो क्याम्पेनलाई हालसम्म आठ हजार डलर मात्र दिएका छन् । फोर्ब्स म्यागेजिनको अर्बपती सूचीमा रहेका रियलस्टेट व्यवसायी ट्रम्पले सन् २०१६ को क्याम्पेन सुरु गर्दा भने ६६ मिलियन डलर आफ्नै खाताको पैसा खर्चिएका थिए ।

पर्याप्त नगद हातमा नभएपछि ट्रम्प अहिले राज्य राज्यमा हजारौँ कार्यकर्ता भेला गरेर चुनावी सभामा केन्द्रित हुन थालेका छन् । सभामा उपस्थित भिडले आफ्नो पक्षको देशब्यापी माहोल दर्शाएको उनको दावी छ । प्रतिश्पर्धी बाइडेनले भने कोरोना भाइरस संक्रमणप्रति जिम्मेवार हुँदै सामाजीक दूरी कायम सहित ‘ड्राइभ इन र्याली’हरुमा जोड दिएका छन् । बाइडेनका अनुसार अहिलेसम्म उनको क्याम्पेनलाई ५५ लाख बढि अमेरिकीले चन्दा दिएका छन् । आफ्नो पक्षको माहोल पुष्टि गर्ने यो जति महत्वपुर्ण तथ्यांक अरु हुन नसक्ने उनको तर्क छ । हुनपनि ट्रम्पको पछिल्ला सबै चुनावी सभामा उपस्थितको गणना गर्ने हो भने पनि ५५ लाख पुग्न कठिन पर्छ ।
कोरोना भाइरसबाट दुई लाख २८ हजारले ज्यान गुमाइ सकेको एवं पद वहाल गरेपछि एक पटक पनि ५० प्रतिशत लोकप्रियता (एप्रुभल रेटिङ) आर्जन गर्न नसकेका ट्रम्प अधिकांश प्रतिश्पर्धी राज्यमा बाइडेनभन्दा पछि छन् । मत सर्भेक्षणहरु झूठो रहेको र चुपचाप आफ्नो पक्षमा रहेका लाखौँ मतदाताले नोभेम्बर ३ मा आफुलाई भोट हालेर जिताउने उनको दावी रहँदै आएको छ । शुक्रबार विहानसम्ममा सन् २०१६ को कुल मतको ६१ प्रतिशत भोट खसि सकेको छ । यस अनुरुप यसपाली मतदानमा नयाँ रेकर्ड कायम हुने देखिएको छ ।