ट्रम्प र वाइडेनको भाग्य फैसलाको प्रतिस्पर्धा, कसरी हुन्छ विजेताको निर्णय ?

काठमाडौं । अमेरिकामा आगामी चार वर्षे कार्यकालका लागि आज राष्ट्रपति निर्वाचन हुँदैछ । चुनावपछि अमेरिकाले ५८ औं राष्ट्रपति छान्नेछ ।

चुनावी मैदानमा अहिलेका राष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडनबीच प्रतिस्पर्धा रहेको छ । राष्ट्रपति ट्रम्पसँग प्रतिस्पर्धा गरिरहेका बाइडेन पूर्व उपराष्ट्रपति हुन् ।

जो वाइडेन पहिलो पटक राष्ट्रपतिय निर्वाच्नको प्रतिष्पर्धामा रहेका छन् भने ट्रम्पले दोस्रो कार्यकालका लागि चुनावी प्रतिष्पर्धामा रहेका छन् ।

अमेरिकी राष्ट्रपतिको काम कार्बाहीबाट अमेरिका र विदेशमा रहेका धेरै मानिसको जीवनमा प्रत्यक्ष असर पर्ने गर्छ। त्यसैले आज नोभेम्बर ३ नेपाली समय अनुसार राती हुने निर्वाचनको परिणाम सबैको चासोको विषय बनेको छ।

अमेरिकी राजनीतिक प्रणालीमा विशेषगरी दुईवटा पार्टीको वर्चस्व रहेको छ। ती दुईमध्ये एक पार्टीका उम्मेदवार नै राष्ट्रपति निर्वाचित हुने गर्छन्।

रिपब्लिकनहरू अमेरिकाका परम्परावादी राजनीतिक पार्टीका हुन् र यो वर्षको निर्वाचनमा उनीहरूका उम्मेदवार पदासीन राष्ट्रपति डोनल्ड ट्रम्प हुन्। उनी आगामी चार वर्षको कार्यकालका लागि पुनः निर्वाचित हुन चाहन्छन्।

डेमोक्र्याटहरू अमेरिकाको उदारवादी भनिने राजनीतिक पार्टीका हुन् र उनीहरूका उम्मेदवार यो वर्ष जो बाइडन छन्।

उनी एक अनुभवी राजनीतिज्ञ हुन् र यसअघि उनले राष्ट्रपति बाराक ओबामाको कार्यकालमा आठ वर्ष उपराष्ट्रपतिको भूमिका निर्वाह गरिसकेका छन्।

राष्ट्रपति पदका ती दुवै पुरुष उम्मेदवार उमेरले ७० वर्षभन्दा माथिका छन्। ट्रम्प ७४ वर्ष पुग्नै लागे भने बाइडन ७८ वर्षका भए।

विजेताको निर्णय कसरी हुन्छ ?

अमेरिकी राष्ट्रपतीय निर्वाचनका दुवै उम्मेदवारले सबैभन्दा धेरै इलेक्टोरल कलेज भनिने निर्वाचक मण्डलको सबैभन्दा बढी मत ल्याउनका लागि प्रतिस्पर्धा गर्नेछन्।

अमेरिकाको प्रत्येक राज्यको हकमा निश्चित सङ्ख्यामा इलेक्टोरल कलेज मत निर्धारण गरिएको छ, जुन केही हदसम्म राज्यहरूको जनसङ्ख्याका आधारमा तोकिएको हुन्छ।

जम्मा ५३८ वटा इलेक्टोरल कलेज मत उपलब्ध छ। जुन उम्मेदवारले २७० भन्दा बढी त्यस्तो मत प्राप्त गर्न सक्छ उही विजयी ठहरिन्छ।

यसको अर्थ सामान्य मतदाताले राज्यस्तरीय प्रतिस्पर्धाका लागि मतदान गर्ने गर्छन् राष्ट्रियस्तरमा होइन।

यही कारणले गर्दा राष्ट्रिय स्तरमा वा देशव्यापी रूपमा सबैभन्दा धेरै मत ल्याउने उम्मेदवार पनि इलेक्टोरल कलेजले गर्ने मतदानमा पराजित हुनसक्छ।

सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा यस्तै भएको थियो। देशभरि भएको कुल मतदानमा हिलरी क्लिन्टनले पाएको कुल मत धेरै थियो तर इलेक्टोरल कलेज वा निर्वाचक मण्डलमा धेरै मत पाएका डोनल्ड ट्रम्प राष्ट्रपति भएका थिए।

अमेरिकामा दुईवटालाई छाडेर बाँकी सबै राज्यमा जो जित्यो त्यहाँको सबै इलेक्टोरल कलेज मत उसैको हुने प्रावधान छ।

यस हिसाबले धेरैजसो राज्यहरू दुईमध्ये एक पार्टीको पक्षमा राम्रैसँग ढल्केको पाउन सकिन्छ। त्यसैले यसरी मतदाताको झुकावमा स्पष्टता नदेखिएका एक दर्जनजति राज्यमा नै चुनाव प्रचारप्रसार धेरै जसो केन्द्रित हुने गर्छ। यस्ता राज्यहरूलाई ब्याटलग्राउन्ड स्टेट वा सुइङ्ग स्टेट पनि भन्ने गरिन्छ।