१० करोड बढिले ‘अर्ली’ मतदान गरि सकेपछि अमेरिकामा निर्वाचनको दिन सुरु भएको छ । सन् २०१६ मा खसेको कुल मतको ७३ प्रतिशत मतदान चुनावको दिन अघि नै भइ सकेको हो । सोमबार मध्यराती न्यू ह्यामसरको डिक्सभिल नोट्चमा भोट खसाएर ‘इलेक्सन डे’को औपचारिक सुरुवात गरियो ।
अघिल्लो शताब्धिमा रेलरोडमा काम गर्ने कामदारका लागि मध्यराती वुथ खोल्ने गरिएको थियो । त्यही चलन पछि गएर अमेरिकी चुनाव औपचारिक शुभसाइतको रुपमा विकास भयो । डिक्सभिल नोट्चमा पाँच मत खसेकोमा सबै डेमोक्रेटिक राष्ट्रपतिय उम्मेद्वार जो बाइडेनले पाएका छन् ।
यो चुनाव डोनाल्ड ट्रम्पका लागि जनमत संग्रह बराबर देखिएको छ । डेमोक्रेटिक पार्टीबाट पूर्व उपराष्ट्रपति बाइडेन उम्मेद्वार रहे पनि दुई प्रतिश्पर्धीको एजेन्डाका लागि भन्दा ट्रम्प समर्थन र विपक्षमा धेरै भोट खस्दैछ । चार बर्ष अघि ट्रम्पले अप्रत्याशीत नतिजा निकाल्दै राष्ट्रपति चुनिएयता अमेरिका दुई कित्तामा बिभाजित छ । यहाँ अहिले कि ट्रम्प समर्थक या विरोधी मात्र छन् । फरक नेता, विचार र चिन्तन नै गौण बन्न पुगेको छ । ट्रम्प विरोधी र समर्थक दुबैमा चुनावप्रति अत्यधिक उत्साह देखिएको कारण यसपाली १६ करोडसम्म भोट खसेर नयाँ रेकर्ड बन्ने अनुमान गरिएको छ । यो संख्या अमेरिकामा मताधिकार पाएका बालिकहरुको दुई तिहाई हो ।
सन् २०१६ मा ट्रम्पले जितेका दक्षिणी राज्यहरु टेक्सास, एरिजोना, नर्थ क्यारोलिना, फ्लोरिडा, जर्जिया जस्ता राज्यमा अत्यधिक अर्ली भोटिङ भएको छ । यी राज्यमध्ये कुनैमा ट्रम्पले ५० प्रतिशतभन्दा कम भोट ल्याएरै जितेका थिए भने कुनैमा ५० प्रतिशत टेकाएका थिए । अहिले भएका मत सर्वेक्षणहरुमा टेक्सास बाहेक यी सबै राज्यमा ट्रम्प पछाडि देखिएका छन् ।

मंगलबार विहानसम्म हवाई, टेक्सास, वासिङ्टन र मोन्टेनामा सन् २०१६ मा खसेको कुलभन्दा धेरै मतदान भइ सकेको छ । फ्लोरिडा, नर्थ क्यारोलिना , जर्जिया, न्यू मेक्सिको, नेभाडा, कोलोराडो लगायत दक्षिणी राज्यहरुमा चार बर्ष अघिको तुलनामा ९० प्रतिशत माथि मतदान भइ सकेको छ । साधारणतया अर्ली भोटिङबाट डेमोक्र्याटले फाइदा लिँदै आएका थिए । तर, कोरोना भाइरस संक्रमणका कारण यसपाली धेरैले अर्ली भोटिङ रोजेका कारण यसैलाई लाभ भयो भन्नसक्ने अवस्था छैन ।
टेक्सासले चक्मा देला ?
अमेरिकामा दोस्रो घना आवादी भएको राज्य टेक्सास रिपब्लिनका लागि महत्वपुर्ण आधारस्तम्भ रहँदै आएको छ । ५५ इलेक्टोरल मत रहेको क्यालिफोर्निया डेमोक्र्याटका लागि जस्तो आधार हो ३८ इलेक्टोरल भोट रहेको टेक्सास रिपब्लिकनका लागि त्यस्तै हो । तर, यसपाली टेक्सासको परिचय बदलिएको छ । तुलनात्मक रुपमा कम भोट खस्ने टेक्सासमा यसपाली अर्ली भोटिङमै मतदाताको उत्साह पोखियो । कुल ९७ लाख अर्ली भोटिङ भएकोमा १० लाख मेल इन ब्यालेट हो भने बाँकी मतदाताले बुथमै उपस्थित भएर भोट खसाएका छन् । यो आँकडा सन् २०१६ को तुलनामा १०८ प्रतिशत हो ।
चार बर्ष अघि टेक्सासमा ५२ प्रतिशत मत ल्याएर ट्रम्प विजयी भएका थिए । तेस्रो पक्षको उम्मेद्वारलाई धेरै भोट गएको कारण हिलारी क्लिन्टन आठ प्रतिशत बिन्दुको मतान्तरमा पराजित भइन् । तर, त्यसको दुई बर्ष पछि भएको सिनेट चुनावमा डेमोक्रेटिक प्रत्याशी बेटो ओ’रर्कले रिपब्लिकन सिनेटर टेड क्रुजसँगको मतान्तर दुई प्रतिशत बिन्दुमा खुम्च्याए ।
२०१६ पछि मात्र टेक्सासमा १६ लाख बढि नयाँ मतदाता थपिएका छन् । उनीहरुमध्ये धेरै युवा, आप्रवासी एवं अन्य राज्यबाट टेक्सासमा बसाइँ सरेर जाने छन् । उनीहरुको धेरै मत आफुले पाउने कारणले पनि डेमोक्र्याटहरु यसपाली टेक्सासप्रति आशावादी छन् । चार बर्ष अघि तेस्रो पक्षको उम्मेद्वारलाई गएको अधिकांश मत बाइडेनले पाउने र आफ्नो पक्षका बहुमत मतदाता पनि थपिएको अवस्थामा चमत्कारि नतिजा निकाल्न सक्ने उनीहरुको ठम्याइ छ । त्यसमाथि देशब्यापी रुपमा बाइडेनले गोरा मतदातासँग क्लिन्टनको भन्दा राम्रो अवस्था बनाएका छन् । त्यो सुधार टेक्सासमा पनि झल्किनेछ ।
फाइभ थर्टी एटको औषत आँकडा अनुसार अहिले टेक्सासमा ट्रम्प र बाइडेन दुबै जना ५० प्रतिशतभन्दा कम समर्थनको अवस्थामा छन् । ट्रम्पले बाइडेनलाई एक प्रतिशत बिन्दुले उछिनेका छन् । तर, टेक्सासमा सर्वेक्षकहरुले सँधै डेमोक्र्याटलाई कम नम्बर दिने गरेको कारण एक प्रतिशत बिन्दुको अन्तर निर्वाचनमा मेटिने डेमोक्रेटिक रणनीतिकारहरुको दावी छ ।
डेमोक्र्याटको अवस्था सुधार हुँदै आएका शहरी काउन्टीहरु ह्यारिस, डाल्लास, टेरान्ट , बेक्सार, ट्राभिस जस्ता घनावस्ती भएका स्थानमा यसपाली धेरै अर्ली भोटिङ भएको छ । सबैभन्दा धेरै २४ लाख रजिष्टर मतदाता रहेको ह्यारिस काउन्टीमा ५८ प्रतिशतले भोट खसाइ सकेका छन् । हुस्टन नगर रहेको यो काउन्टीमा सन् २०१८ मा सिनेट उम्मेद्वार ओ’रर्कले ५८ प्रतिशत मत ल्याएका थिए । मतदान बढेको अहिलेको अवस्थामा बाइडेनको जित मार्जिन बढ्ने आँकलन गरिएको छ । ओ’रर्कले ७४ प्रतिशत भोट ल्याएको साढे आठ लाख मतदाता रहेको ट्राभिस काउन्टीमा ६४ प्रतिशतले भोट खसाइ सकेका छन् । यो काउन्टीमा अष्टिन नगर क्षेत्र पर्छ । डेमोक्र्याट तिर निरन्तर ढल्कि रहेको कोलिन काउन्टीमा ७० प्रतिशत रजिष्टर मतदाताले भोट खसाइ सकेका छन् । टेक्सासको नतिजा मंगलबार मध्यरातीसम्ममा आउनेछ । यदि यो राज्य डेमोक्र्याटले खोसे भने ट्रम्पको पुनर्निर्वाचित हुने सबै सम्भावना त्यँही अन्त्य हुनेछन् ।

डेमोक्रेटिक क्षेत्रको मतदान बढेपछि तिलमिलाएका रिपब्लकिनहरु सर्वसाधारणलाई मतदानमा कठिनाइ उत्पन्न गराउन हरतरहको प्रयास गरि रहेका छन् । ह्यारिस काउन्टीले मतदातालाई सहज पार्न ड्राइभ थ्रु भोटिङ बुथ सञ्चालनमा ल्याएको छ । त्यहाँबाट सवा लाख बढिले भोट खसाइसकेपछि रिपब्लिकहरु ती भोट बदरको माग गर्दै अदालतको ढोका ढक्ढक्याउन पुगेका थिए । टेक्सासको सर्बोच्च अदातल र हुष्टन स्थित संघीय अदालत दुबैले रिपब्लिकनको रिट खारेज गरिदिएका छन् ।
संशय बढाउँदै ट्रम्प
मत सर्भेक्षणमा निरन्तर पछि परेपछि अमेरिकी राष्ट्रपति ट्रम्प भने निर्वाचनबारे भ्रमपूर्ण सूचना सम्प्रेषण गरि रहेका छन् । यसले शान्तिपुर्ण रुपमा चुनाव सम्पन्न हुने र विजेता घोषित हुने सम्भावनामा संकट देखिएको छ । ट्रम्पले चुनावको दिन हुलाकको छाप लागेको मेल इन ब्यालेट सम्बन्धित निर्वाचन अधिकारीले पछि पाए पनि मत गणना गरिने व्यवस्था बिरुद्ध निरन्तर भ्रम छरि रहेका छन् । यस्तो मतदानले धाँदली बढ्ने उनको दावी छ ।
तर, अमेरिकामा यसरी मतदान भएको यो पहिलो पटक होइन । हरेक निर्वाचनमा राज्यहरुले पछि आएका मतपत्र स्वीकार गर्दै आएका छन् । बिशेष गरि पेन्सिलभेनिया जित्नै पर्ने दवावमा रहेका ट्रम्प त्यहाँ निर्वाचनको तीन दिन पछिसम्म आएका मतपत्र गणना गर्ने नियमको सख्त विरोधमा छन् । यो व्यवस्था खारेज गराउन ट्रम्प क्याम्पेन एवं रिपब्लिकन नेतृत्व सर्बोच्च अदालतसम्म पुगेको थियो । कतै पनि उपाय नलागेपछि उनी अहिले अदालत बिरुद्ध खनिन थालेका छन् ।

चुनावकै दिन परिणाम नआए शान्ति खलबलिने भन्दै ट्रम्पले धम्की समेत दिएका छन् । आफुले भने जसरी निर्वाचन परिणाम नआए जे पनि हुन सक्ने भन्दै उनले गरेको ट्विटप्रति ट्विटरले चेतावनीको संकेत राखेको छ । आफ्ना समर्थकहरुले गरेको हुल हुज्जत एवं विपक्षी क्याम्पेनप्रतिको दुर्व्यवहारलाई ट्रम्पले बचाउ गर्दै आएका छन् । गत साता टेक्सासमा ट्रम्प समर्थकले हाइवेमा गुडि रहेको बाइडेन क्याम्पेनको बसलाई चारैतिरबाट घेरेर सडक छोड्न बाध्य बनाएका थिए । त्यो घटनामा एफबिआईले समेत अनुसन्धान सुरु गरेको छ । तर, ट्रम्प आफ्ना समर्थकले बसलाई सुरक्षा दिएको र उनीहरु निर्दोष रहेको दावी गर्दै आएका छन् । न्यूयोर्कमा पनि गत साता ट्रम्प समर्थकले जथाभावी गाडी रोकेर न्यूजर्सी जोड्ने एउटा प्रमुख पुल नै ठप्प पारिदिएका थिए ।
राष्ट्रपतिले नै निर्वाचनको परिणामप्रति शंसय बढाएर अशान्ति फैलिने चेतावनी दिएपछि पहिलो पटक अमेरिकी लोकतन्त्र र शान्तिपुर्ण सत्ता हस्तान्तरण प्रकृयाप्रति चिन्ता बढेको छ । न्यूयोर्क जस्ता ठूला सहरका बैंक एवं व्यवसायीक भवनमा लुटपाटको डरले शिशा बाहिरबाट काठ ठोक्न थालिएको छ । ट्रम्प आफैँले ह्वाइट हाउस बाहिर अतिरिक्त बारबेरा लगाउन अह्राएका छन् । हरेक चार बर्षमा शान्तिपुर्ण तवरले हुँदै आएको चुनावमा यसपाली ह्वाइट हाउसलाई किन अतिरिक्त सुरक्षा बेरा चाहियो भन्ने बारे ट्रम्प प्रशासनले केही बताएको छैन ।