काठमाडौं । अहिले विश्वव्यापी प्रतिवद्धता अनुसार नेपालले समेत दिगो विकास लक्ष्य २०१६-२०३० कार्यान्वयन गरिरहेको छ । सरकारले गरेको सार्थक प्रयासका कारण नेपालले दिगो विकास लक्ष्यका लक्ष्यहरुको प्राप्ती संतोषजनक नै रहेको बताएको छ । राष्ट्रिय योजना आयोगका अनुसार यसमा पहिलो लक्ष्य गरिबी निवारण तथा असमानता घटाउनेमा नेपालको प्रगति राम्रो देखिएको छ ।
निरपेक्ष गरिबी र बहुआयामिक गरिबी दुबैमा नेपालको प्रगति राम्रो देखिएको छ । तर, अन्य लक्ष्यमा भने नेपाल पहिलो चरणको लक्ष्यभन्दा पछाडी नै रहेको छ । दिगो विकास लक्ष्य प्रगति समीक्षा २०१६–२०१९ प्रतिवेदन अनुसार नेपालको राष्ट्रिय गरिबी १८.६ प्रतिशतमा र बहु आयामिक गरिबी २८.६ प्रतिशतमा झरेको छ ।
प्रतिवेदन अनुसार उद्योग, पूर्वाधार तथा नवप्रवर्तन, उत्पादन तथा वितरणका लक्ष्यमा भने सोचेजस्तो राम्रो प्रगति भएन । कुल गार्हस्थ उत्पादन वृद्धि ५.६ प्रतिशत छ । कुल जनसङ्ख्याको तल्लो ४० प्रतिशतको उपभोग र आम्दानीको अनुपात पनि बढेको छ ।
खाद्य सुरक्षा सूचकाङ्क ४६ रहेको छ । नेपालको शिक्षातर्फ प्राथमिक तहमा भर्ना दर ९७.२ प्रतिशत पुगेको छ । प्राथमिक तह पूरा गर्ने विद्यार्थी ८९.५ प्रतिशत छ । महिला सशक्तीकरणका क्षेत्रमा नेपालले राम्रो सुधार गरेको छ । समान कामका लागि ज्यालाको असमानता, बालविवाह तथा महिला हिंसाका घटना उल्लेख्य छन् ।
यस अवधिमा कुल जनसङ्ख्याको ८८ प्रतिशत जनसङ्ख्याको आधारभूत खानेपानीमा र २१ प्रतिशतको सुरक्षित खानेपानी एवम् ८५ प्रतिशतको शौचालयमा पहुँच पुगेको छ । ऊर्जामा कुल एक हजार २५० मेगावाट जलविद्युत् उत्पादन भएर ८८ प्रतिशत जनसङ्ख्या लाभान्वित भएको तथ्यांकमा उल्लेख छ ।