कुमार न्यौपाने, न्युयोर्क
एक बिहानको हिंडाइको क्रममा सेन्ट्रलपार्क वेष्ट, ब्रोडवेको ७९ औं स्ट्रिटमा Hummer Boy नामको भित्ते चित्र देखियो । सानो फुच्चे केटा, ह्यामर बोकेरे सडक छेउ पानीको गेटभल्भमा हान्नलागेको कालो चित्र (बाक्लो प्लास्टीक कभर गरिएको छ) । जसमा लेखिएको छ, “Help Zabar’s save this Banksy” (बेन्क्सीलाइ जोगाउन जेवार्जलाइ सहयोग गर) । यो अनौंठो लाग्ने चित्रमा किन Zabar’s नै लेखियो भनि खोतल्दा थाहा लाग्यो कि त्यो नाउँको स्टोर म्यानह्याटनको सबैभन्दा पुरानो मध्येको एक र चरम आर्थिक मन्दीको समयमा पनि यस स्टोरले गरेको योगदानलाई सम्झाउन खोजिएको रहेछ । सानै भएपनि यो भित्तेचित्रले केही अन्य प्रतिनिधि चित्रहरु झैं निकै चर्चा बटुल्न सफल भएको बुझियो । यही चित्र देखेपछि लाग्यो के हो त यो भित्तेचित्रहरुका कथाहरु ? यसको अर्थ बुझ्दै, भित्तेचित्र खोज्ने क्रमसंगै यसको अन्तरबस्तुहरु पनि अगाडि आयो । हामी कतिले याद गरेका छौं, न्युयोर्क एक भित्ते चित्रकलाले भरीएको सहर हो भनेर । कसैले भित्तेचित्रकला (मुराल/ग्राफिटी) बनाउने प्रबृत्ति सहर फोहोर पार्ने मेलो भनि गलत ठान्छन र दण्डित गर्नुपर्ने भनि कसुरको रुपमा लिएको पनि देखिन्छ तर यहि फोहोर झैं लाग्ने कलाहरुलाई विभिन्न देशहरुले जस्तै न्युयोर्कले पनि पर्यटकको आकर्षणको रुपमा विकाश गर्दै मुद्रा आर्जन (मोहोर) को श्रोत मान्न थालेको देखिन्छ ।

भित्तेलेखन वा भित्तेचित्रकलाको इतिहास कोट्टयाउने हो भने निकै अगाडि जानुपर्ने हुन्छ । भनिन्छ, प्राचिनकालमा भित्तेलेखन र भित्ते चित्रकला मनोरञ्जन र कुनै युग वा बस्तुको प्रमाणको रुपमा बनाउने गरिन्थ्यो । झण्डै बाउन्न हजार बर्ष अघिको मानिने बोर्नियोको गुफा चित्रलाई सबैभन्दा पुरानो मान्नुपर्ने आर्कियोलजिष्टहरु बताउँछन । त्यस्तै गरी दक्षिणी फ्रान्सको गुफा चित्र, पाँच हजार बर्ष अघिको इजिप्सीयन चिहानहरुमा भेट्टाइएका भित्तेचित्रहरु हुदै मेक्सीकोका भित्ते चित्रहरु प्राचिन भित्र पर्दछन ।
मध्ययुगमा आएर इटाली, भारतको अजन्ता गुफा, केरलामा पाइएको बृहद चित्रहरु र थाइल्याण्डको राजमहलका भित्ताहरुमा कोरिएका रामायणका चित्रहरुबाट के बुझ्न सकिन्छ भने भित्तेलेखन वा चित्रकलाको विकास बिभिन्न कालखण्डहरुमा विभिन्न धर्मसम्प्रदायबीच हुदै आएको

सन १९२० देखि मेक्सीकोबाट आधुनिक युगमा प्रबेश गरेको भित्तेचित्र कलाले शुरुवाति दिनदेखि नै सामाजिक मुद्दाहरुलाई बिषय बनाउने गरेको पाइन्छ । युरोपमा बिशेष गरी फ्रान्स र इटालीले सामाजिक र राजनैतिक बिषयलाई आधार बनाएर शासकहरुसंग अधिकारहरुको माग या कयौं आन्दोलनहरुको सुत्रधारको रुपमा चित्रकलाको साहारा लिने गरेको देखियो । सन १९६० ताका फिलाडेल्फीयाबाट शुरु भै भित्तेचित्रकला न्युर्योक भित्रिएको पाइन्छ । १९७० को दशकमा न्युयोर्क सहर आर्थिक रुपमा जिर्ण हुदैजाँदा र अपराधिक कृयाकलाप बढिरहेको समयमा भित्रिएको भित्तेलेखनले शुरुमा न्युयोर्क सहरको ब्रोन्क्स र ब्रुकलिन चल्ने ट्रेनका भित्ताहरु, त्यस्तैगरी सबवे स्टेशनका भित्ताहरु रंगीन पार्न थाले । सार्वजनिक वा निजी भवनका भित्ताहरु, पुलहरु लगायत निकै जोखिमपुर्ण ठाँउहरुमा आर्थिक सहयोग र आर्थिक रुपान्तरणका नाराहरुबाट शुरु भएको भित्तेचित्रलाई प्रतिबन्ध पनि लगाइयो । तर यो क्रमशः झाङ्गीदै गयो । यसभित्र राम्रो नराम्रो दुबैपक्षहरु नभएका होइनन । कतिपय ठाँउमा अशोभनिय, भद्घा उश्रृङ्गखल र अपशब्दहरुको प्रयोगले भित्तेचित्रकलालाई बदनाम पनि गरेको छ, दण्डनीय बनाएको छ तर यति भन्दाभन्दै पनि असल नियतका साथ बनाइएका सही र सुन्दर श्रृजनाहरु पर्यटकको आकषर्णको केन्द्रको रुपमा बिकशित पनि हुदैछ । आर्थोपार्जनको माध्यम बनाइदैछ । केही समय अघिदेखि यसलाई न्युयोर्कको पर्यटकिय स्थलको रुपमा सुचिकृत गरिएबाट पनि अवको दिनमा भित्तेचित्रकलाले नयाँ उचाइ भेट्टाउनेछ भन्न सकिन्छ ।

जुनै पनि समाजमा सामाजिक, आर्थिक वा राजनैतिक रुपले मानिसहरु बिभक्त छन र त्यहि भेदहरु बीचमा एकअर्का प्रति माया पनि छ र घृणा पनि छ, घृणाको आँखाले हेर्नेहरु नै यस भित्तेचित्रकलाको सकारात्मकतालाई चुनौति बन्दै आएका छन । कतिपयहरुले राजनैतिक बिरोधका कुराहरुलाई भित्तेचित्रकलामार्फत प्रयोग गर्दा सहर र समाज बिकृत बनाउँदो पनि छ । अव गलत बाटो हिड्ने कि सही ? त्यो आफ्नो ठाँउ, सहर र समाज कस्तो बनाउने हो, त्यहिंका नागरिकहरुको जिम्मेवारी भित्रपर्ने हुन्छ ।
क्रमशः भित्तेचित्रहरुको पछि लाग्दै गर्दा थाहा भयो कि यो न्युयोर्क शहरको कुनाकाप्चासम्म फैलिएको रहेछ । न्युयोर्क शहरको हेर्नै पर्ने भित्तेचित्रको सुचि थुप्रै रहेछन । कोही राम्रा छन, कोही नराम्रा पनि छन । कुनै चित्रहरुले सामाजिक भाषा बोल्छ भने कुनैले नग्नता । बिशेष गरी ब्रोन्क्स, ब्रुकलिन र म्यानह्याटनमा भएका चित्रहरु महत्वपुर्ण मानिन्छन । यस्ता चित्रकलाहरुमध्ये ब्रोन्क्सको ब्रोन्क्स वाल अफ फेम, सेन्ट्रलपार्क वेष्टको ह्यामर व्वाय, चाइना टाउनको कोवे ब्रायन्ट बाबुछोरीको चित्र, फ्लसीङ्ग एभिन्युको बुसविक ब्रुकलिन, हार्लेम हस्पिटल नजिकैको ग्राफिटी हल अफ फेम, लिटल इटालीको अद्री हेपवर्न, बन्द भएको रेल्वेलाइनलाई पार्कको रुपमा बिकशित गरीएको हड्सन यार्डदेखि चेल्सीमार्केटसम्मको हाइलाइन पदमार्गको भित्तेचित्रहरु, इष्ट भिलेजह्युस्टन सडकको दोश्रो एभिन्युको ग्रीन आर्ट पार्क, योर्क सडक नजिकै डम्बोको भित्तेचित्रहरु, ध्त्ऋ का पप आट्र्सहरु, चाइना टाउनको न्युयोर्क लेखिएको शब्दहरु, बोवेरी ग्राफिटी वाल, १८ औं स्ट्रिट र दशौं एभिन्युको गान्धी र मदर टेरेसा र किङ्ग अफ एन वाई लगायत सयौं भित्तेचित्रकलाहरु महत्वपुर्ण मानिन्छन । यसको बिकाश र प्रर्बद्धन गर्न न्युयोर्क शहरले विभिन्न योजना नै अगाडि बढाइ विकस गर्दै लगेको देखिन्छ । सामाजिक न्यायको अभियानमा भित्तेचित्रकलाको पछिल्लो प्रयोग “एशियनहरु प्रति घृणा”को बिरुद्ध भएको देखिन्छ ।

शेफर्ड फेरी, लेडी पिंक, केनी स्कार्फ, आइको, ओस जेमोस लगायत सयौं कलाकारहरुको भित्तेचित्रकलाहरुले न्युयोर्क शहरका भित्ताहरु रंगीन र कलात्मक हुदै गएका छन । यसैबीच एक अनौठा कलाकार बेन्क्सी छन । यसै उपनामले चित्र बनाउने गरेका यी कलाकार बेलायतको ब्रिस्टोलमा जन्मीएका हुन । भित्तेचित्रकलाको चर्चा गर्दा उनको चर्चा भएन भने अपुरो नै हुने रहेछ । विश्वका सयौं शहरहरुमा हजारौं भित्तेचित्र बनाएका यी कलाकार बास्तवमा को हुन भन्ने अझै पनि खोजिको बिषय बनेको छ । लण्डन अण्डरग्राउण्डका भित्तेचित्रहरु, गर्ल विथ वलुन, न्युयोर्कका थुप्रै मध्ये माथि उल्लेखित ह्यामर व्वाय निकै चर्चित छ । उनको चित्रकलाले बिशेष गरी व्यङ्ग्य बोल्छ । समाजका बिकृतिलाई हान्छ । यस बिषयमा चासो राख्ने वा संचारमाध्यमहरुले विभिन्न अड्कल काटेपनि आजसम्म सार्वजनिक नभएका ति कलाकारको कलायात्रा समाजको लागी उपयोगी बन्दै अगाडि बढोस् ।
आजको समयमा भित्तेचित्रकलाको सवल आर्थिक पाटो मुख्य बिषय बनेको छ । यसको ख्याति र त्यस्ता कलाकारहरुले बार्षिक न्युनतम आम्दानि नै पचासौं हजार डलर भएको तथ्याङ्गकले देखाएको छ । न्युयोर्क सहरमा मात्रै सम्पुर्ण भित्तेचित्रकलाको आर्थिक प्रभाव हेर्ने हो भने दशौं मिलियन डलर भन्दा माथि देखिन्छ । बेला बेला प्रतिबन्धित र अपराध समेत मानिएको र आज पनि जथाभावी चित्र कोरीएमा दण्डनीय मानिने यस्तो गतिबिधिलाई बिधिमा बाँधियो भने कसरी आर्थिक उन्नति गर्न सकिन्छ भन्ने ज्वलन्त उदाहारण न्युयोर्क सहरको भित्तेचित्रकला हो । आदिम कालदेखि चित्रकलाको जननि मानिने भित्तेचित्रकला आज बृहद कलाको एक हाँगाको रुपमा अगाडि बढ्दै छ । यसले मानिसमा दबिएर रहेको भावना, सामाजिक असमानता, अन्याय र प्रेम जस्ताकुराहरुलाई सार्वजनीक रुपमा कसरी प्रस्तुत गर्ने बलियो आधार दिन्छ । यसले मानिस भित्रको कला चेतलाई अझै आन्दोलित गर्दैछ । पर्यटकहरुको लागी न्युयोर्कको अर्को परिचय बन्दै गरेको भित्तेचित्रकला हेर्नकोलागी टुर गाइडहरुको व्यवस्था छ भने न्युयोर्क सहरबासीहरुको लागी म जस्तै स्वेच्छिक भ्रमण गरी हेर्न सकिने सबै संभावनाहरु खुल्ला नै छन ।
लिच्छवीकालीन भैरवका भित्तेचित्रहरु, मिथिला चित्रकला र मुस्ताङ्गका गुफा चित्रहरुको आधारमा नेपालको भित्तेचित्रकलाको इतिहास लामै देखिन्छ । यो अर्को लामो बिषय बन्न सक्छ । विश्वभरी यो चित्रकलाको स्वरुप मान्य, योग्य र चर्चित हुदै गर्दा नेपालको भित्तेचित्रको पछिल्लो घटना भने तिक्ततापुर्ण छ ।
कोभिडको महामारीमा आफ्नो ज्यान जोखिममा राखी जनताको सेवामा लाग्नेहरुको योगदानलाइ सम्मान स्वरुप काठमाण्डौंको आकाशे पुलको भित्तामा बनाइएको भित्तेचित्र महानगरका मेयरले “शहर फोहोर पार्ने” भन्दै धर्ना बसेर मेटाउन लगाएको खवर अस्ती भर्खरको हो । अव उनलाई भित्तेचित्रकलाको इतिहास कसले पढाउने हो ? यसको मौलिकताको उपयोग गरी पर्यटकहरुको लागी एक आकर्षणको केन्द्र बनाउन सकिन्छ र अर्थोपार्जनको भरपर्दो श्रोत पनि बन्न सक्छ भनि कसरी बुझाउने हो । संसारभर झैं हाम्रोमा पनि भित्तेचित्रकला सम्बन्धि चेत खुलोस् ।