बास्फरस क्षेत्र र इस्तानवुल नहर

कुमार न्यौपाने, न्युयोर्क

फेब्रुवरी २०२१, काठमाडौंदेखि न्युर्योकसम्मको यात्रामा इस्तानवुलको ६ घण्टे ट्रान्जिट, हवाइअड्डाको सोफामा अर्को जहाज कुर्दै गर्दा इस्तानवुल नहरको समाचारले ध्यान तान्छ र मनमा खुल्दुली बढ्छ । विगतका घटनाहरु र हालसालैको टर्किस सरकारको नहर सम्बन्धी योजनाबिच यसका सम्बन्धित पक्षहरु माझको राजनिती तातिएको देखिन्छ । त्यसैले सम्बन्धित देशमा रहँदाको बखत कोट्याइएको सम्बन्धित देशकै समाचारले आज केही हरफहरु लेख्न लगायो ।


उहिलेको रोमन कन्स्टान्टोनोपल;

आजको इस्तानवुल, टर्किको सबैभन्दा ठुलो सहर जुन युरेसीया अर्थात दुइ महादेशमा फैलिएको छ । युरोपेली र एसियाली भुमी बीचबीचै पश्चिमतिरबाट मारमरा समुन्द्रको पानी छिरेर कृष्णसागरमा मिल्छ, त्यही पानी र तटीय जमिनको भागलाई बास्फरस क्षेत्र मानिन्छ । आठ सय बर्षको अट्टोमान साम्राज्यको पतनसंगै भु­मध्यसागरको मुख जिब्राल्टारदेखि कृष्णसागरसम्मको जलशक्ति जलमार्गमा कसले र कसरी प्रभाव पार्ने भन्ने होड सुरु हुन्छ । त्यो होडमा भौगोलिक रुपमा निकै पर रहेतापनि बेलायत सबैभन्दा बढी चनाखो देखिन्छ । जव बिशाल अट्टोमान साम्राज्य खुम्चीएर सग्लो टर्की देश बन्छ तब उ थुप्रै आन्तरिक समस्याहरुसंग जुध्दै हुन्छ । सामुन्द्रिक सामरिकता र राजनीतिको तालमेल मिलाउन नसक्दा त्यस क्षेत्रमा बेलायत, फ्रान्स र तत्कालीन सोभियत संघको सुरक्षा चासो बढ्दै हुन्छ ।
बास्फरस र वरपरको जल क्षेत्रमा कसको अधिकार भन्ने होडबीच उत्पन्न समस्याको समाधान खोज्न सन १९३६ मा स्वीजरल्याण्डको मोन्ट्रेक्स सम्मेलन हुन्छ । बेलायत, फ्रान्स, सोभियत संघ, युगोस्लाभिया, जापान, जर्मनी लगायतको उपस्थितिमा भएको सम्मेलनले बास्फरसको अधिकार, सुरक्षा र संचालनको अधिकार टर्कीलाई नै दियो । टर्कीले सबै अधिकार पाए संगै केही शर्तहरु पनि पाउँछ । प्रमुख शर्तले टर्किले बास्फरस जलक्षेत्रबाट वारपार हुने जहाजहरुमा कर लगाउन नपाउने भयो र कृष्णसागर तटीय देशहरुको सामान्य प्रयोजनका जहाजहरु बाहेकका युद्घपोतहरु, युद्घसामग्री बोकेका जहाजहरु र तोकिएको वजन र आकार भन्दा ठुला जहाजहरुमा प्रतिबन्ध लाग्यो । यस सन्धिले खासगरी सोभियत संघलाइ भु­मध्यसागरमा हालीमुहाली गर्न रोक्ने बेलायती रणनीति थियो । त्यसबेला अमेरीकाले आफ्नो पर्यबेक्षक मात्र पठायो तर भु­मध्यसागर तटीय देश इटाली आफ्नो साम्राज्य बिस्तारको मनस्थितिमा नै भएकोले सम्मेलनको हिस्सा बनेन, जर्मनीले सम्मेलनमा भाग लिएर पनि सहि गरेन र जापानले शर्त सहितको सहमति जनाएर सन्धि भयो । इटली, जर्मनी र जापानको उक्त निर्णयहरुले के देखाउँछ भने १९३९ मा शुरु भएको दोश्रो बिश्वयुद्घको तयारी यसै गरी निकै पहिलादेखि भइरहेको थियो भन्न सकिन्छ ।


त्यस सन्धिको प्रभाव हालसम्म पनि कायमै रहेको बेला बास्फरस भन्दा केही उत्तर इस्तानवुल एयरपोर्टसंगै बन्न लागेको ४५ कि.मी. लामो नहरले सबै शक्ति राष्ट्रहरुको ध्यान तानेको छ । यस योजनाले बास्परस जलमार्गको अत्याधिक चापलाई घटाउँछ र सन्धिले बाँधिएको टर्कि बन्धनबाट मुक्त हुन्छ भन्ने एकथरीको भनाइ छ । एकातिर टर्किका महत्वाकांक्षी राष्ट्रपतिको पटकपटकको चुनावी नारा बन्ने गरेको उक्त महत्वकांक्षी नहरको आयोजनाले तीनको राजनैतिक भविष्य निर्धारण गर्ला नगर्ला तर त्यस क्षेत्रको आर्थिक बिकासमा टेवा दिने देखिन्छ । अर्कोतिर पहिलेदेखि नै रुसको बास्फरस जलक्षेत्र कव्जा गर्ने नीति बेलायतीहरुले सफल हुन नदिएपछि अझै केही गर्न सकिन्छ कि भन्दै दाउ खोज्दै आँखा गाडिरहेकै छ । पछिल्लो समय जब टर्किले अमेरीकी हतियारको सट्टा रुसी हतियार खरीद गर्यो तब अमेरीका र बेलायतसंग टर्किको खासै न्यानो सम्बन्ध नभएको मौका छोपी यस नहरमार्फत रुस उसको नौसैनिक गतिबिधि र जहाजहरुको प्रभाव क्षेत्र बृद्घि गर्नमा पक्कै लागी पर्नेछ तर त्यो कुन रुपमा हुन्छ, टर्कि र रुसबीच हुन सक्ने आगामी सन्धि सम्झौताका दफाहरुले बताउला । उसले सोचेको जस्तो हुनसक्ने कम सम्भावना देखेको रुसलाई आफ्नो शक्तिलाई फैलाउनु भन्दापनि नेटोको युद्घपोतहरुको कृष्णसागरमा हुनसक्ने सहज प्रवेशले पिरोलेको छ । उ बेला बेलायत लगायतहरुले भु­मध्यसागरमा सोभियतको प्रबेश रोक्न गरेको राजनीति र हाल रुसले कृष्णसागरमा नेटोलाई रोक्न उक्त नहर निर्माणमा गरेको बिरोध उही प्रकृतिको देखिन्छ । रुस, टर्किस विपक्षी पार्टी र टर्किस पुर्व सैनिक जनरलहरु यो नहरको पक्षमा देखिदैनन । यही बिषयले अमेरीका, बेलायत र फ्रान्स लगायत भु­मध्यसागर तटिय देशहरु र उत्तर अफ्रीकी देशहरुको ध्यान तानेको छ । टर्की नेटोको भरपर्दो सदस्य हो तर हाल टर्किसंगको अमेरीकी सम्बन्ध चिसीएको भएतापनि सामरीक चासो भने उत्तिकै छ । रुसले उसैको छिमेकी युक्रेनप्रति गर्दै आएको व्यवहार, क्राइमियामा भएको सैनिक हस्तक्षेप, मध्यपुर्वको सीरीयामा गर्दै आएको गतिबिधिले पश्चिमा शक्ति निकै सशंकित छ । रुसी सैनिक बिमानहरुले बेला बेला ईंगलीस च्यानलको जलक्षेत्र उल्लंघन गर्ने गरेको र यही जुन २३ मा बेलायती एच एम एस युद्घजहाजले क्राइमिया तटको १२ माइल परबाट नियमित यात्रा गर्ने क्रममा रुसले गरेको आक्रमणको धम्कीबाट कुनै असामान्य दुर्घटना त हुन्न भन्ने भय रहिरहेको छ र यस्ता शक्ति राष्ट्रहरुबीच बेलाबेला भइरहने आमने सामनेले विश्वमा नै सैनिक गतिबिधि बढ्दै जाने र निशस्त्रीकरणको बिषय अझै पेचिलो बन्ने देखिन्छ ।
कृष्णसागर क्षेत्रलाई निशस्त्रीकरण गर्नु पर्छ भन्ने सोच भएका साना राष्ट्रहरुको विचारलाई टर्कीको क्षेत्रीय शक्ति हुने चाहाना, मस्कोको आफ्नो सुरक्षा चासो र पश्चिमाहरुको युक्रेन र क्राइमीयाप्रतिको रुस बिरोधी दृष्टीकोणले पनि यो नहरको निर्माणको विषय तातो रोटी भएको छ । टर्की ठुला ठुला एयरपोर्टहरु, नहरहरु, सुरुङ्गमार्ग र पुलहरुको निर्माण गरी आफुलाई हालको सम्बृद्घिको परिभाषा भित्र राख्न चाहन्छ । उसको भुगोल भित्र उसले आफ्नो देशको आवश्यकता बमोजिम बिकास निर्माण गर्न पाउने पहिलो अधिकार नै हो तर विगतमा बिश्वमा भएका यस्ता विकास निर्माणको चरण र इतिहास हेर्दा के चैं प्रष्ट हुन्छ भने विश्व राजनीति, शक्ति देशहरुको आफ्नो शक्तिको प्रभाव, विश्व व्यापारमा आफ्नो प्रभुत्व जस्ता बिषयहरुले मुख्य भुमिका खेलेको देखिन्छ । पानामा नहरमा फ्रेन्च र अमेरीकी संलग्नता, स्वेज नहरमा फ्रेन्च, बेलायती, अमेरीकी र इजरायली हस्तक्षेप र चासो, मलाक्का जलमार्गमा चिनीयाँ चासोहरुको इतिहासले इस्तानबुल नहर पनि बिश्व राजनितीबाट चोखो रहन सक्ने देखिदैन ।
बिषय जब चोटिलो बन्छ तब त्यो विकाश निर्माण र समृद्घिको मात्र हैन, सैनिक र सामरिक बिषय बनाइन्छ । देशहरु बीचको पैसा र शक्तिको प्रतिष्पर्धाले एकले अर्कोको सम्प्रभुता माथि धावा बोल्ने गरेको देखिन्छ । बिश्वमा यस्ता गतिबिधिहरु ठुला शक्ति राष्ट्रहरुले निर्वाधरुपमा गर्ने गरेका छन र त्यस्ता राष्ट्रहरुको आडमा स्वघोषित क्षेत्रीय शक्तिहरुले कमजोर देशहरु प्रति गर्ने व्यवहार झन अमानवीय छन । नेपाल लगायत अधिकांश देशहरुका बीचमा शक्तिको प्रभावले असमान सन्धीहरु गरी आफुलाइ लाभ र कमजोरलाई हानि गर्ने गरी कामहरु भएको पाइन्छ । यस्तै लाभ हानि र शक्तिको टकरावको बिषयले बास्फरस र इस्तानवुल नहरको योजना तातिदैछ तर पहिलो प्राथमिकता भनेको टर्कीले आफ्नो भु­भाग भित्र राष्ट्र र जनताको हितमा कुनै पनि बिकास निर्माण गर्न पाउनु उसको नैसर्गिक अधिकार हो । नेपालले सिक्टा सिंचाइ र तामाकोसी बिद्युत आयोजना बनाए झैं टर्किले नहर बनाउन पाओस् ।