रमाइलो छ न्युयोर्कको डम्बो

कुमार न्यौपाने, न्युयोर्क

पहिलो पल्ट सुन्दा अनौठो लागेको थियो यो नाउँ – डम्बो !
प्रत्येक ठाँउको नाउँको पछाडि केही न केही अर्थ लुकेको हुन्छ । “Down Under the Manhattan Bridge Overpass” को छोटकरीलाई ‘डम्बो’ भन्ने थाहा पाएपछि त्यहाँ पुगौं भन्ने भयो । अर्को तथ्य त्यहाँ पुगेपछि थाहा भयो कि हात्तीको छावा, गणेश जस्तो देखिने रवर र कपडाको फुच्चे हात्तीको (कान र पेट साविकभन्दा अलि ठुलो बनाई दिईएको उपनाम) प्रतीक बर्षको एकपल्ट आकाशबाट खसाल्ने उत्सव नै हुने रहेछ । पहिलो पल्ट खोज्दै डम्बो पुगेको मलाई बिस्तारै बिस्तारै त्यहाँको बिशेषताले निकैपल्ट तानेको छ । ‘टु ब्रिजेज’ भन्ने उपनाम पाएको म्यानह्याटन पट्टिे फराकिलो हुदै ब्रुकलिन पुग्दा सांघुरिएर झण्डै जोडिन पुग्ने दुई पुलहरुको बीचबीचै पर्ने न्युयोर्केली र पर्यटकहरुको जमघट हुने ठाँउ डम्बोमा रमाइलो लाग्ने चिजविजहरु निकै छन । विश्व प्रशिद्घ ब्रुकलिन पुल, म्यानह्याटन र ब्रुकलिन जोड्ने सबैभन्दा लामो म्यानह्याटन पुलको बीच भागबाट एम्पायर स्टेट बिल्डिङ्गदेखि वान वर्लट्रेडसम्मको दृष्यपान गर्न सकिने भएकोले न्युर्योक सहरको पुग्नै पर्ने ठाँउमा पर्ने डम्बो मन रमाउने ठाँउमा पर्दछ । डम्बोको केही सडकहरुमा युरोपीय सहरहरुको सडकहरुमा देखिने बेल्जियन ब्लक्स पनि भनिने कबल स्टोनहरु (चारपाटे आकारमा काटिएको ढुङ्गा) ओछ्याएका छन । डम्बोको मुख्य बाटो वाशिङ्गटन स्ट्रिटबाट सिधा उत्तर पश्चिमपट्टि हेर्दा देखिने म्यानह्याटन पुलको दुई खम्वाहरु र त्यसको खाली भागबाट देखिने एम्पाएर स्टेट बिल्डीङ्गको दृष्य लोभलाग्दो हुन्छ, विषेश गरी साँझपख र राति अझ दृष्य मनमोहक हुने गर्छ । त्यही ठाँउमा तरुनातन्नेरीहरुको भावभङ्गी सहितको फोटो खिच्न तछाडमछाड नै हुन्छ । कयौं पटक पालो कुर्नु परेको मेरो नै अनुभव छ । सडकका चहकिलो पहेंला बत्तिको प्रकाश सडकमा ओछ्याईएका सफा ढुङ्गाहरुमा पर्दाको दृष्यसंगै म्यानह्याटन पुल र वरपरको तेलीय इट्टाको घरहरुको समिश्रणले जो कोहीलाई पनि तान्दछ ।

डम्बोबाट देखिने म्यानह्याटन डाउनटाउनको दृष्य


निकै सिनेमाहरुमा डम्बोको साँझको दृष्य देख्न पाईन्छ । खोज्द्रै जाँदा थाहालाग्यो, केही बर्ष अगाडि नै सुनेको नेपाली गायक सज्जनराज बैद्यको मानिस र समय अथवा उमेरसंगै कसरी मानिसको समय उम्किन्छ भन्ने भावको निकै चर्चित गीत “फुत्केर गयो यो उमेर नि” भन्ने गीतको कभर फोटो त्यही डम्बोको रहेछ । दैनिक धेरै फोटोहरु क्यामेरामा कैद हुने, नवबिवाहित जोडिहरुको विहेपछिको फोटो लिने गन्तव्य, बिभिन्न गीतहरुको म्युजिक भिडियोहरु, द फ्रेन्च कनेक्सन, भ्यानिला स्काई जस्तो थुप्रै चर्चित सिनेमाहरुको छायंकन स्थल पनि हो – डम्बो । प्रमुख रुपमा इटालियन तर सबैजसो स्वादका खानेकुराहरु पाईने रेष्टुराँहरु, साँझ, बिहान बृद्घबृद्घाहरुको लागी बगैचासहितको सुस्ताउने ठाँउ, तरुनातन्नेरीहरुको लागी खानपिन सहितको भेटघाट र बिभिन्न शेल्फिस्पटहरु, बालबालिकाहरुकोलागी घोडा वा माछाहरुको आकारमा बनाइएको झिलीमिली घुम्ने खेलौना आदि आकर्षणहरु भएकोले यो ठाँउ सबैको रोजाईमा पर्दछ । यस स्थानमा घुम्ति व्यापारीहरु पनि विभिन्न खानाका परिकार बोकेर बसेका हुन्छन् । न्युर्योक सहरमा नेपालीहरुको ‘मःम’लाई बिभिन्न नाउँले चिनिन्छ । चिन, थाइल्याण्ड, ताइवानी, तिब्वती, भारतीय, कोरीयनहरु आ­आफ्नो नाउँमा मःमको व्यापार गर्न व्यस्त छन । चर्को व्यवसायी होडबाजीमा नेपाली नाउँ र स्वाद कुन कुनातिर धकेलिने त हैन । यस्तै सोच्दै एकमनमा लाग्यो, सबै देशका स्वादहरुको परीकार पाइने ठाँउमा हाम्रो नेपाली स्वादको फास्टफुड मानिने मःमको भिन्नै स्वाद पनि सबैलाई चखाउन पाए कस्तो हुँदो हो ।
ब्रुकलिन पुलको केही दक्षिण पट्टिबाट बु्रकलिन ब्रिज पार्क शुरु हुन्छ, बेलुकाको सुर्यास्तको आनन्द लिन सकिने न्युर्योक सहरको अव्वल ठाँउको पार्कले ब्रुकलिन हाईट्सलाई बोर्ड बाक भनेर चिनिने काठको पुलले जोड्दछ । काठले बनाईएको नागबेली पुलको हिडाईको अनुभव कयौंलाइ नौलो लाग्न सक्छ । लामो समयसम्मको सुर्यास्तको दृष्य, म्यानह्याटनको स्काइलाइन र दुई पुलहरुको अबस्थितिले डम्बो र त्यो वरपरको ठाँउहरु बिशेष बन्दै गएका छन ।

डम्बोको प्रख्यात फोटोस्पट


प्रोफेसनल बक्सिङ्ग ट्रेनिङ्ग सेन्टरहरु प्रशस्त रहेको डम्बोले बक्सिङ्गका महारथी मानिने मोहम्मद अलि र माइक टाइसनलाई समेत उबेलादेखि नै आर्कषित गरेको रहेछ । उनिहरु आफ्नो महत्वपुर्ण म्याच हुनुअघि तयारी तालिमहरु प्रायजसो डम्बो मै हुनेगरेको प्रमाण जुलियाना रेष्टुराँका भित्ताहरुले बताउँछ । त्यसै भएर होला आजसम्म पनि बिहान वा बेलुका तिर पुग्नेहरुले थुप्रै व्यवसायीक बक्सिङ्ग खेलाडिहरु खुल्ला चौर वा नदि किनारमा अभ्यास गर्दै गरेको देख्न सकिन्छ ।
त्यहाँ पुग्नको लागी म्यानह्याटनबाट न्युर्योक कै सबैभन्दा पुरानो फेरी स्टेसन फुल्टनमा वा ट्रेनबाट हाइ स्ट्रिट र योर्क स्ट्रिटमा र बिभिन्न एम टि ए बसबाट नजिकैको स्टेसनमा झरी केहि मिनेटको हिडाइमा पुग्न सकिने डम्बो बिशेष गरी बु्रकलिन ब्रिज या म्यानह्याटन ब्रिजबाट पैदलयात्रा गरी जादाँ भने अर्कै रमाइलो अनुभुत गर्न सकिन्छ । पर्यटकहरु बीच पैदलयात्राको लागी ख्याति कमाएको ब्रुकलिन ब्रिज संसार कै सबैभन्दा धेरै तस्विर खिचिएको मानव निर्मीत आकर्षण मध्येमा पर्दछ । कुनैबेला ब्रुकलिन कै सम्भ्रान्तहरु बस्ने डम्बो अचेल न्युर्योक सहरको रम्ने (ह्याङ्ग आउट) ठाँउमा अग्रपङ्गतिमा छ । आकर्षक मुराल्सहरुको संग्रह नै हेर्न सकिने डम्बो पर्खालको बिशेषता भिन्नै छ । संगीतमय रेष्टुराँहरु र बेलाबेला भइरहने आउटडोर कन्सर्टले संगीतप्रेमीहरुलाई मनोरन्जन दिन्छ । डम्बोको फोटोभिलमा हरेक बर्ष सेप्टेम्बर, अक्टोवरमा हुने गरेको चित्रकला प्रदर्शनिले कलाप्रेमिहरुका लागी नयाँ उत्साह र अवसर ल्याउने गर्छ, त्यस्तै कथाबाचन श्रृङ्गखलाहरु, श्रष्टाहरुको संवादको श्रृङ्गखलाहरु र सहासीक खेलको रुपमा चिनिने रक क्लाइम्बिङ्ग पनि त्यहाँको अर्को अकर्षण हो ।
समग्र अकर्षण र गतिबिधिहरुले डम्बोलाई चलायमान बनाएको छ । पछिल्लो समय हामीलाई फोटोग्राफि तालिमको दुईदिन छोटो सिकाइको क्रममा एक दिन डम्बो नै लगिएको थियो । दैनिकरुपमा फोटो कै लागी भनि हजारौं मानिसहरु पुग्ने डम्बोको बेलुकाको म्यानह्याटन पुलमुनिको खम्बाहरुबीचबाट देखिने एम्पायर स्टेट बिल्डिङ्गको फोटो सर्वाधिक चर्चित छ । त्यही फोटो लिन कै लागी तिन पटकसम्म पुगेको छु । छ्याङ्ग उघ्रेको साँझको सुर्यास्तले म्यानह्याटनका अग्ला घरहरुलाई छाँया पारी ल्याउने लालीमा इष्टरीभरको ब्रुकलिन किनारबाट हेर्दा अद्भुत लाग्छ । ब्रुकलिन र म्यानह्याटन ब्रिजबाट हिंड्दाको आनन्द र चहलपहलको कारण होला जतिपल्ट डम्बो पुगें म हिडेर नै पुगें । धेरै कुराहरु बिना दस्तुर नै आनन्द लिन सकिने भएतापनि डम्बोका रेष्टुराँका खानेकुराहरु सामान्य न्युर्योकको रेष्टुराँहरु भन्दा केही महंगो छ । सकेसम्म पिउने पानी साथैमा बोकेमा प्यास लाग्ने बित्तिकै चर्को भाउको पानी किन्न दौडिनु पर्दैन । दरभाउको फरकपनको कारण कतिपय ठाँउमा आफ्नो खल्ती अनुसार घुम्ने योजना बनाउँदा राम्रो होला ।
आजकलका मोवाइलहरुमा गज्जबको क्यामेराको सुबिधा भएपनि क्यानन वा नाइकनको नयाँ भर्सनको क्यामेराहरु या लेन्सहरुले जस्तो पर्फेक्ट र न्वाइजलेस फोटोहरु पटक्कै खिच्न सकिदैन, बिहान र साँझको मन लाभ्याउने दृश्यहरु कैद गर्न, संग्रह गर्न वा व्यबसायिकरुपमा फोटोग्राफी गर्नेहरु सबैका लागी यस्ता बिशेष ठाँउहरु घुम्दा सकेसम्म बिशेष क्यामेरा बोकेमा पछि फोटो हेर्दै पछुताउन नपर्ला !

फोटो: लेखक