काठमाडौं । चालु आर्थिक वर्ष २०७८\७९ को पहिलो तीन महिनामा नेपालको निर्यात व्यापार चम्किएका छ । यसमा भारत र अमेरिकासँगको हिस्सा ठूलो रहेको भन्सार विभागले जनाएको छ । नेपालले यो अवधिमा अमेरिकाबाट ५ अर्ब ३२ करोड रुपैयाँको वस्तु आयात गरेको छ । नेपालबाट अमेरिकामा भने ४ अर्ब ९८ करोड रुपैयाँ बराबरको निर्यात भएको छ । नेपालले कुल १३४ मुलुकसँग वैदेशिक व्यापार गर्छ । त्यसमध्ये अमेरिकासँग मात्र व्यापार घाटा करीव सन्तुलनमा देखिन्छ ।
नेपालको वैदेशिक व्यापार भारतसँग बढी निर्भर रहेको छ । सोहीकारण आयात र निर्यात दुबैमा भारतको हिस्सा अधिक देखिन्छ । नेपालले भारतबाट २ खर्ब ८७ अर्ब २७ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । नेपालबाट भने ५२ अर्ब ७१ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भारतमा भएको छ । चीनसँग नेपालले ६७ अर्ब २४ करोड रुपैयाँको आयात र २५ करोड रुपैयाँको मात्र निर्यात व्यापार गरेको छ । समग्रमा भने नेपालले यो अवधिमा ६५ अर्ब ५ करोड २८ लाख रुपैयाँ बराबरको निर्यात गर्न सफल भएको छ ।
यो अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा १०९.५४ प्रतिशत बढी हो । गत वर्ष यसै अवधिमा मात्र ३१ अर्ब ४ करोड ६० लाख रुपैयाँ बराबरको निर्यात भएको थियो । यो वर्ष वनस्पती तेलको हिस्सा सर्वाधिक रहेको छ । आयात समेत यो वर्ष चुलिएको छ । चालु आवको तेस्रो महिनासम्म ४ खर्ब ७८ अर्ब ५२ करोड रुपैयाँ बराबरको वस्तु आयात भइसकेको छ । गत आवको यसै अवधिमा मात्र २ खर्ब ९२ अर्ब २६ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । अहिले गत आवको यसै अवधिको तुलनामा ६३.७३ प्रतिशतले वस्तु आयात बढेको छ । आयात र निर्यात दुवैमा भएको वृद्धिले वैदेशिक व्यापारमा समेत उल्लेख्य वृद्धि भएको छ ।
नेपालको वैदेशिक व्यापार तीन महिनामै साढे ५ खर्ब हाराहारी पुगेको छ । तीन महिनाको अवधिमा कुल ५ खर्ब ४३ अर्ब ५७ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । यो गत आवको यसै अवधिको तुलनामा ६८.१३ प्रतिशतले बढी हो । गत आवमा मात्र ३ खर्ब २३ अर्ब ३१ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको तथ्यांक भन्सार विभागसँग रहेको छ ।
नेपालको वैदेशिक व्यापारमा आयातको हिस्सा ८८.०३ प्रतिशत रहेको छ । निर्यातको वृद्धिदर उकासिए पनि आयातको तुलनामा कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा भने मात्र ११.९७ प्रतिशत रहेको छ । जसले गर्दा नेपालको व्यापार घाटा भने निरन्तर चुलिने क्रममा रहेको छ ।
तथ्यांक अनुसार साउनदेखि असोजसम्म नेपालको व्यापार घाटा ४ खर्ब १३ अर्ब ४७ करोड रुपैयाँ रहेको छ । यो गत वर्षको तुलनामा ५८.२८ प्रतिशत बढी हो । गत आवको यसै अवधिमा नेपालको व्यापार घाटा मात्र २ खर्ब ६१ अर्ब २२ करोड रुपैयाँ रहेको थियो । कुल वैदेशिक व्यापारमा आयातको हिस्सा केही घट्दा निर्यातको हिस्सामा भने २४.६३ प्रतिशतको वृद्धि देखिएको छ ।