न्यूयोर्क
अमेरिकामा यतिबेला समुन्द्री आँधीको सिजन चल्दै छ । हरेक बर्ष एट्लान्टिक महासागरमा जुन १ देखि नोभेम्बर ३० सम्मलाई आँधीको सिजन मानिन्छ । त्यस्तै पूर्वी उत्तर प्यासिफिकको आँधीको सिजन भने मे १५ देखि नोभेम्बर ३० सम्म हो । आँधीको कारण हरेक बर्ष अमेरिकामा थुप्रै मानवीय क्षति हुन्छ भने थुप्रै मानिस घरवार बिहिन हुन पुग्दछन् । भर्खरै मात्र क्यारेबियन मुलुक बहामासमा आएको डोरियन नामक आँधीले थुप्रै मानवीय र भौतिक क्षति पुर्याएर अहिले अमेरिकाको पूर्वीय तटतर्फ अगाडि बढिरहेको छ । वर्षैपिच्छे आउने यस्ता समुन्द्री आँधीको बारेमा सञ्चार सम्पर्क गर्न र स्मरण गर्नको लागि सहज होस् भनेर लामो समय अगाडि मौसमबिद्हरुले यस्तो बिनासकारी आँधीहरुलाई समेत नाम रखिने प्रचलन शुरु गरेका छन् । हरेक वर्ष समुन्द्री आँधीको सिजन शुरु हुनु अगाडि नै तिनीहरुको नामको सुची तयार पारिने र त्यस अगाडि नै सम्बन्धित निकायबाट नामहरु प्रमाणित गरेर राखिने प्रचलन छ । सन् १९५० को शुरुवातदेखि यु एस नेसनल हरिकेन सेन्टरले आँधीलाई नाम दिने प्रचलन ल्याए पछी हाल विश्वका अधिकांश देशहरुमा यही प्रचलन छ । अहिले अमेरिकामा सन् २०२४ सम्मका समुन्द्री आँधीहरुको नाम मौसमबिदहरुले जुराएर राखिसकेका छन् । प्रारम्भमा अंग्रेजी अक्षर “ए” “बि” गर्दै बर्णाक्रम अनुसार आँधीहरुको नामाकरण गरिने प्रचलन सुरु गरिए पनि नामहरु दोहोरिन गएको कारण हाल महिला र पुरुषको नामलाई पालै पालो दिने चलन चलाईएको छ । यसरी महिला र पुरुष नामहरुको सुची हरेक ६ बर्षको लागि तयार पारेर रखिने गरिएको छ । ६ बर्ष पछी पुन: दोहोर्याउने गरिएको छ ।
एटलान्टिक महासागरमा यो बर्ष आउने आँधीहरुको नामावली यस्तो छ :
एन्ड्रिया, बेरी, शन्टल, डोरियन, आईरिन्, फर्नाण्ड, ग्याब्रियल, हम्बर्टो, ईमेल्दा, जेरी, करिन, लोरेन्जो, मलिसा, नेस्टोर, ओल्गा, पाब्लो, रेबेका, सेबास्टियन, तान्या,भ्यान, विन्डी ।
पूर्वी उत्तर प्यासिफिक महासागरमा आउने यो बर्षको आँधीका नामवली :
अल्बिन, बार्बरा, कस्मी, डलाईला, एरिक, फ्लोसी, गिल, हेंनरिट, इभो, जुलिएट, किको, लोरिना, मारियो, नर्दा, ओक्टाभे, प्रिस्सिला, रेमोन्ड, सोनिया, टिको, भल्मा, वालिस, जिना,योर्क, जेल्दा ।