विद्यालयमा हुने बन्दुक हमलाले अमेरिकामा बालबालिकामाथि कस्तो असर परिरहेको छ ?

AP Photo/Dario Lopez-Mills

न्यूयोर्क (बीबीसी) । अमेरिकी विद्यालयमा भएका बन्दुक आक्रमणका घटनामा एउटा निराशाजनक भावना जोडिएको छ। घटनालाई लिएर सञ्चारमाध्यममा आक्रोशहरू देखिन छोडेपछि पनि अन्य बेलामा जस्तो सामान्य अवस्था हुने छैन। हालैको एक घटनामा १८ वर्षीय साल्भाडर रामोसले टेक्सस राज्यस्थित एउटा प्राथमिक विद्यालयमा गोली प्रहार गर्दा कम्तीमा १९ जना विद्यार्थी र दुई वयस्कहरू मारिए। सातदेखि १० वर्षसम्मका बालबालिकालाई पढाइने रब एलिमेन्टरी स्कूलमा उक्त आक्रमण भएको थियो।

रामोस ह्याण्डगन, स्वचालित राइफल र थुप्रै राउन्ड गोली राख्ने क्षमताको म्यागजीनसहित आक्रामक रूपमा विद्यालय पुगेका थिए। घटनास्थलनजिकै रहेका एक सीमारक्षक सुरक्षाकर्मीले उनलाई गोली हानेर मारिदिएका थिए। तर यस्ता खालका हिंसात्मक व्यवहारले अमेरिकी स्कुले बालबालिकाका साथै शिक्षक र अभिभावकको दैनिक जीवनलाई कसरी असर गर्छ त ? सन् १९९९ मा भएको कोलम्बाइन गोलीकाण्डपछि धेरै अमेरिकी विद्यालयमा मेटल डिटेक्टरको व्यवस्था गरिएको थियो ।

विद्यालयमा हुने धेरै जनालाई लक्षित गरी हुने गोली प्रहारका घटनाबाट सर्वसाधारणमा पीडा उत्पन्न हुनु र विद्यालयलाई सुरक्षित पार्ने उपायको अपेक्षा गरिनु बुझ्न सकिने कुरा हुन्। टेक्ससको विद्यालयमा भएको घटनापछि विद्यालय रहेका कैयौँ विद्यालयले प्रहरी उपस्थिति बढाउने बताए। सन् १९९९ मा कोलम्बाइन हाईस्कूल, सन् २००७ मा भर्जिनिया टेक यूनिभर्सिटी, सन् २०१२ मा स्यान्डी हुक प्राथमिक विद्यालय र सन् २०१८ मा पार्कल्यान्ड हाईस्कूलमा पनि घटना भएपछि यस्तै गरिएको थियो।

यी सबै घटनाहरूमा ८८ निर्दोष मानिसहरू मारिएका थिए। विद्यालयमा हुने बन्दुक आक्रमणबारे अध्ययन गरेकी अमेरिकी विज्ञ सेरिल लेरो जोनसनले भनिन्, “प्रत्येक घटनापछि विद्यालयहरूमा सुरक्षा बढाइएको छ र मानिसहरूलाई उनीहरूका बालबालिका कोलम्बाइन, भर्जिनिया टेक अथवा स्यान्डी हूकजस्ता घटनाका पीडित हुँदैनन् भनेर आश्वास्त पारिएको छ।”


भिक्टिम्स एन्ड अफेन्डर्स जर्नलमा लेख्दै उनले ती घटनापश्चात् विद्यालयमा बन्दुक बोकेका व्यक्ति वा सशस्त्र सुरक्षाकर्मी देखिने, एक्सरे मशीन, मेटल डिटेक्टरहरू राख्न पाउने जस्ता विषय सामान्य बनेको बताइन्। सशस्त्र व्यक्ति आए के गर्ने भनेर अमेरिकी विद्यालयहरूमा अभ्यास गर्न थालिएको छ । अमेरिकी विद्यालयहरू बन्दुकधारीले आक्रमण गरे के गर्ने भन्ने योजना बनाउन पनि अभ्यस्त भएका छन्।

यसको अर्थ विद्यालयहरूले खतराको आकलन गर्ने, आपत्कालीन प्रतिक्रिया जनाउन योजना गर्ने, सङ्कटका बेला खटिने टोली बनाउने र बन्दुकधारीलाई तत्काल कसरी प्रतिक्रिया जनाउने भनेर अभ्यासहरू बढाइरहेको जोनसन बताउँछिन्। एभ्रीटाउन फर गन सेफ्टी सपोर्ट फन्ड नामक संस्थाका अनुसार एउटा एकदमै विवादित नीति भनेको बन्दुकधारी आउँदा के गर्ने भनेर गरिने अभ्यास हो।

यो ९५ प्रतिशतभन्दा बढी अमेरिकी प्राथमिक विद्यालयहरूमा लागु हुँदै आएको छ। ह‍ालैका केही त्यस्ता गहन अभ्यासमा नक्कली बन्दुक बोकेका नकाबधारी पुरुषहरू र नक्कली रगत प्रयोग गरेर पीडितको भूमिका निर्वाह गर्ने विद्यार्थीहरू सहभागी भएका थिए। सन् २०२० को एउटा प्रतिवेदनमा एभ्रीटाउनले त्यस्ता अभ्यासको प्रभावकारिताले कति सघाउ पुर्‍याएको छ भनेर “कुनै अनुसन्धान” नभएको बताएको छ।

यसैबीच त्यस्ता अभ्यास मानसिक स्वास्थ्यका लागि भने हानिकारक हुने सङ्केत देखिएको छ। उक्त प्रतिवेदनले एक अभिभावकलाई उद्धृत गर्दै लेखेको छस् “त्यस्तो अभ्यासका बेला पूर्वप्राथमिक विद्यालयमा पढ्ने मेरी छोरी शौचालयमा एक्लै बस्थिन् र अतिचिन्ताका कारण उनले एक वर्षसम्म उपचार गर्नुपर्‍यो।

सन् २०१९ मा इन्डियानास्थित एक विद्यालयले त्यस्तो अभ्यास गराउँदा त्यसले विद्यार्थीलाई तनावमा पारेको र शिक्षकहरू पनि गोलीका छर्राबाट आहत र भयभीत भएको भन्दै उक्त विद्यालयको आलोचना भएको थियो। थुप्रै अभ्यासहरू विद्यालयका कर्मचारी वा कानुन कार्यान्वयन गराउने वयस्कका लागि हुन् ताकि उनीहरूले त्यस्ता अवस्थाको सामना कसरी गर्छन् भनेर हेर्न सकियोस्, न्याश्नल सेन्टर फर स्कूल क्राइसिस एन्ड बिरीभ्मन्टका डेभिड स्कनफील्डले बीबीसीसँग त्यतिबेला भनेका थिए। ‘बालबालिकालाई नक्कली रगतले ढाकिएर भुइँमा लडेको अभियन गर्न लगाउनु अर्थहीन छ र त्यो आघात पुर्‍याउने हुनसक्छ।’