राष्ट्रपतिका लागि डेमोक्र्याटिक प्रतिश्पर्धा थप रोचक बिन्दुमा, आईवामा पिट उदयले ल्यायो नयाँ तरंग

प्रभात भट्टराई / अमेरिका

गतबर्षको यही बेला टेलिभिजनहरुमा डेमोक्रेटिक पार्टीबाट सन् २०२० का सम्भावित राष्ट्रपतिय उम्मेद्वारको चर्चा सुरु भइ सकेको थियो । सिनेटमा नयाँ कार्यकालका लागि चुनाव जितेका भर्माउन्ट र मासाचुसेट्स सिनेटरहरु क्रमशः वर्नी स्यान्डर्स र एलिजावेथ वारेनको नाम अग्रस्थानमै थियो । पूर्व उपराष्ट्रपति जो बाइडेन पनि चर्चाको केन्द्रमा थिए भने क्यालिफोनिर्याकी सिनेटर कमला ह्यारिस पनि गसिपको बिषय बनि सकेकी थिइन् ।

साथै लामो समयसम्म रिपब्लिकनका लागि अत्यन्त सहज राज्यको रुपमा रहेको टेक्सासको सिनेट प्रतिश्पर्धामा टेड क्रुजलाई कडा टक्कर दिएका बेटो ओ’रर्क चर्चाको नयाँ पात्रका रुपमा गत बर्षको चुनाव लगत्तै मिडिया हेडलाइनमा छाइ सकेका थिए । अन्ततः यी पाँचै जनाले उम्मेद्वारी घोषणा गरे । मत सर्भेक्षणहरु हुन थाल्यो । बाइडेनको अग्रतालाई कसैले छुन सकेका थिएनन् । भलै उनी तुलनात्मक रुपमा ढिलो मैदान प्रवेश गरे ।

बाइडेन पछि थिए स्यान्डर्स । सन् २०१६ को डेमोक्रेटिक प्राइमरीमा हिलारी क्लिन्टनलाई कडा टक्कर दिएका स्यान्र्डर्स देशभर लिवरल बिचार बोक्नेहरुका लागि एक बिम्ब बनि सकेका थिए । स्यान्डर्ससँग समान विचार बोक्थिन् वारेनले । त्यसैले उनीहरु दुईमध्ये एक मात्र उम्मेद्वार बन्नेसम्मका चर्चा हुने गरेका थियो । तर, वारेनले स्यान्र्डर्सलाई उछिन्दै सन् २०१९ को ‘न्यू इयर इभ’मै उम्मेद्वारी घोषणा गरिन् ।

उम्मेद्वारी घोषणाकै समयमा वारेन आफ्नो पहिचान सम्बन्धि विवादमा पनि परिन् । उनी आफुलाई ‘नेटिभ अमेरिकन’ बंशजको रुपमा दावी गर्थिन् । उनको दावीलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले पटक पटक उडाएका थिए । झोँक्किएकी वारेनले डिएनए टेष्ट गराइन् । उनको दावी असत्य सावित भयो । त्यसपछि त झन् ट्रम्पलाई के चाहियो र वारेनलाई उडाउन कुनै शब्द बाँकी राखेनन् ।

वारेनको राष्ट्रपतिय क्याम्पेनले पनि सुरुमा खासै गति लिन सकेन । बाइडेन, स्यान्डर्स, ह्यारिस र ओ’रर्कबीच चौ पक्षिय भिडन्तको सम्भावना देखिएको थियो । तर, जुनमा सम्पन्न पहिलो डेमोक्रेटिक बहससम्म आइपुग्दा वारेनले छुट्टै पिकअप लिइ सकेकी थिइन् । विशेष गरि वाल स्ट्रिट र शेयरबजारलाई बलियो नियमनमा राख्नु पर्ने देखि विद्यार्थीले लिएको अध्ययन कर्जा मिनाहासम्मका उनका कार्ययोजनाले लोकप्रियता पाउँदै थिए । २०१६ मा स्यान्डर्स क्याम्पेनमा देखिएको युवा क्रेज विस्तारै वारेन तिर सरेकौ प्रतित हुन थाल्यो ।

जुलाईको दोस्रो बहससम्म आइपुग्दा वारेन क्याम्पेनले राम्रै उचाइ हासिल गरि सकेको थियो । सुरुमा धेरै माथि जाने अपेक्षा गरिएका बेटो र कमलाको ओर्लिँदो क्रम सुरु भयो भने वारेन ग्राफ निरन्तर उकालो लाग्यो । नोभेम्बर बहसमा सहभागी हुन आवश्यक समर्थन नपाएपछि बेटो राष्ट्रपतिय होडबाट बाहिरिइ सकेका छन् भने ह्यारिस पाँचौ स्थानमा संघर्षरत छिन् । उनलाई शिर्ष चारबाट धकेलेका छन् पिट बुटिजजले ।

गतबर्ष यही बेलासम्म २०२० को चुनावका सम्भावित हाइ प्रोफाइलबारे चर्चा हुँदा पिटको नाम कतै पनि थिएन । होओस् पनि कसरी, उनी इन्डियानाको कुल एक लाख जनसंख्या रहेको सहर साउथ बेन्डको मेयर, उमेरले मात्र ३७ बर्ष, त्यसमाथि समलिंगी, अमेरिकी राष्ट्रपतिको होडमा सिनेटर, सांसद एवं पूर्व उपराष्ट्रपतिहरुको हाराहारी आउलान् भनेर कसैले सोचेको थिएन । जनवरी २३ मा उनले राष्ट्रपतिमा उम्मेद्वारी घोषणा गरे । छिटो प्राइभरी निर्वाचन हुने आइवा, न्यू ह्याम्पसर, नेभेदा, साउथ क्यारोलिना लगायत राज्यका गाउँ गाउँ पुगेर आफ्नो परिचय दिए । आफ्ना एजेन्डा सुनाए । आफ्नो क्याम्पेनलाई आर्थिक सहयोग दिन अपिल गरे । नभन्दै मार्चमा सकिएको पहिलो क्वार्टरमा ७० लाख (सात मिलियन) अमेरिकी डलर चन्दा उठाउन उनको क्याम्पेन सफल भयो । अंकमा यो रकम अरु स्टार उम्मेद्वारको तुलनामा खासै ठूलो थिएन । तर, उनको पृष्ठभूमीसँग दाँज्दा ठूलै छलाङ मारेको विश्लेषण भयो । अब उनी राष्ट्रिय मिडियाको नजरमा परे । तर, त्यतिबेलासम्म पनि उनको नाम कसरी सहि उच्चारण गर्ने भनेर टेलिभिजन प्रस्तोताहरुलाई ठूलै हम्मेहम्म परेको थियो ।

डेमोक्रेटिक पार्टीको हरेक बहसमा स्थान बनाउन पिट सफल भए । उनी आफ्ना बिचार र योजनाले मतदाताको ध्यान लगातार आफुप्रति आकर्षित गर्न सफल पनि भए । नभन्दै जुनमा सम्पन्न दोस्रो त्रैमासिक क्वार्टरमा उनको क्याम्पेनले २४.८ मिलियन चन्दा संकलन गर्न सफल भयो । जुन, रकम मार्फत उक्त क्वार्टरको चन्दा संकलनमा डेमोक्रेटिक पार्टीका सबै प्रत्याशीहरुलाई उनले उछिनेका थिए । सेम्टेम्बरमा सम्पन्न तेस्रो क्वार्टरमा उनले १९.१ मिलियन डलर चन्दा संकलन गरेका थिए । यो क्वार्टरमा भने स्यान्डर्स र वारेनले उनलाई उछिनेका छन् ।

१० महिना लामो मेहनतको प्रतिफल उनको क्याम्पेनले चन्दा मात्र उठाएको छैन । सन् २०२० मा ट्रम्पको सम्भावित प्रतिश्पर्धीकै रुपमा उनको आँकलन हुन थालेको छ । आउँदो फेब्रुअरी ३ मा आइवामा डेमोक्रेटिक पार्टीको पहिलो ककस (प्राथमिक आन्तरिक चुनाव) हुँदैछ । त्यसमा डेमोक्रेटिक पार्टीका सदस्यहरुले आफ्नो पार्टीबाट राष्ट्रपतिमा दावेदारी दिएका उम्मेद्वारहरुलाई भोट हाल्छन् । आइवामा जसले जित्यो बाँकी राज्यमा उसको नाम र प्रभाव स्वस्फुर्त बढ्न पुग्छ । त्यसैले अहिले सबै उम्मेद्वारको ध्यानमा आइवामा केन्द्रित छ । र, पिटको ग्राफ निरन्तर बढ्दो छ ।

रियल क्लियर पोलिटिक्सले बिभिन्न सर्भेक्षणहरुलाई संग्रहित गरेर निकालेको औषत तथ्यांक अनुसार अहिले पिट आइवामा दोस्रो नम्बरमा छन् । सबैभन्दा पछिल्लो मनमाउथ विश्वविद्यालयको सर्भेक्षणमा त पिटले अग्रस्थाननै पाएका छन् । नोभेम्बर ७ देखि ११ सम्म सञ्चालित उक्त सर्भेक्षण अनुसार पिटलाई २२ प्रतिशत डेमोक्रेटिक मतदाताले रोज्ने बताएका छन् । दाेस्राे स्थानमा रहेका बाइडेनले १९ प्रतिशत, वारेनले १८ प्रतिशत र स्यान्डर्सले १३ प्रतिशत समर्थन पाएका छन् । यस्तै फेब्रुअरी ११ मा दोस्रो प्राइमरी चुनाव हुने न्यू ह्याम्पसरमा पनि उनको ग्राफ बढ्दो छ ।

सोमबार सार्वजनिक भएको कुन्निपियाक विश्वविद्यालयकौ सर्वेक्षण अनुसार न्यूह्याम्पसरमा पनि पिट क्रेज चुलिन थालेको छ । सर्वेक्षण अनुसार पूर्व उपराष्ट्रपति बाइडेन २० प्रतिशत समर्थन सहित पहिलो नम्बरमा छन् । दोस्रोमा १६ प्रतिशत समर्थन सहित वारेन र तेस्रोमा १५ प्रतिशत समर्थन पाएका पिट छन् । सन् २०१६ को प्राइमरी चुनावमा न्यूह्याम्पसरमा हिलारी क्लिन्टनलाई हराएका सिनेटर स्यान्डर्स १४ प्रतिशत समर्थन सहित चौथो स्थानमा छन् ।

अहिले राजनीतिक पण्डितहरु सबैको प्रश्न एउटै छ के आईवा ककस पिटले जित्लान् ? यसप्रति यति बिघ्न चासो हुनुमा ठूलो कारण रहेको छ । २००८ का राष्ट्रपति चुनावमा डेमोक्रेटिक टिकेट हिलारी क्लिन्टनबाट खोसिएला भन्ने कसैले पनि सोचेका थिएनन् । तर, जब दोस्रो क्वार्टरको चन्दा संकलनमा बाराक ओबामाले हिलारीलाई उछिने तब धेरैले जिब्रो टोके । त्यतीहुँदा पनि राष्ट्रव्यापी सर्वेक्षणहरुमा हिलारी ओबामाभन्दा ३० प्रतिशत बिन्दुसम्मले अगाडी थिइन् । तर, अप्रत्याशित रुपले आइवा ककस ओवामाले जिते । बाँकी राज्यमा उनको पल्लाभारी सुरु भयो । नभन्दै अन्ततः २००८ को राष्ट्रपतिय मतपत्रमा डेमोक्रेटिक उम्मेद्वारको नाम प्रिन्ट भयो– बाराक ओबामा ।

अहिले पिटको लय पनि त्यस्तै छ । दोस्रो क्वार्टरमा चन्दा संकलनमा उछिन्ने मात्र होइन युवालाई समेट्दै राष्ट्रिय एकताको सन्देश प्रभावमा पनि पिटको आवाज ओवामाको जस्तै प्रभावकारी सुनिन थालेको छ । त्यसमाथि वारेन र स्यान्डर्सलाई अत्यधिक समाजवादी (बामपन्थी) बनेको आरोपबीच पिटले मध्यमार्गी पहिचान बुलन्द गर्दै लगेका छन् । र, राजनीतिक पण्डितहरुको चासो चुलिएको छ– के साँच्चै पिट ‘ह्वाइट’ ओबामा बन्ने हुन् त ?