न्यूयोर्क
अमेरिकी संसदको तल्लो सदनबाट राष्ट्रपति डोनाल्ड ट्रम्प बिरुद्धको महाभियोग पारित भएको छ । सदनमा बुधबार साँझ भएको मतदानमा महाभियोग पारित भएको हो ।
हाउस डेमोक्र्याटहरुले ट्रम्प विरुद्ध दुई बुँदे महाभियोग अघि बढाएको थिए । पहिलो बुँदाको रुपमा रहेको अधिकारको दुरुपयोग (एब्युज अफ पावर)मा २३० मत परेको थियो । दुई जना डेमोक्र्याट र सबै रिपब्लिकन सभासदले उक्त बुँदाको विपक्षमा मतदान गरेका छन् । महाभियोग पारित हुन हाउसको ११६ भोट आवश्यक थियो ।
महाभियोगको दोस्रो बुँदाको रुपमा रहेको संसदमाथिको अवरोध (अब्सट्रक्सन अफ कंग्रेस)को पक्षमा भने २२९ मत परेको थियो । तीनजना डेमोक्रेटिक सांसदले यो बुँदामा रिपब्लिकनलाई साथ दिए । डेमोक्रेटिक राष्ट्रपतिय प्रत्यासीकी रुपमा रहेकी हवाइकी सभासद तुलसी गाब्बर्डले भने मतदानमा भाग लिइनन् । मुलुकलाई थप दुई धारमा बिभाजित हुनबाट रोक्न उनले उक्त कदम चालेको बयान दिएकी छिन् ।
रिपब्लिकन पार्टी छोडेर स्वतन्त्र सभासदमा परिणत भएका जष्टिन अमासले भने महाभियोगका दुबै बुँदाको पक्षमा मतदान गरे ।
ट्रम्प अमेरिकी तल्लो सदनबाट महाभियोगमा पर्ने तेस्रो अमेरिकी राष्ट्रपति भएका छन् । यस अघि एन्ड्रु ज्याक्सन र विल क्लिन्टन तल्लो सदनबाट महाभियोगमा परेका थिए । उनीहरुको महाभियोगले सिनेट दुई तिहाइ मत नपाएका कारण पदमुक्त हुनबाट भने जोगिएका थिए । रिचर्ड निक्सनले भने फुल हाउसमा भोट हुन अगावै राजिनामा दिएर बाटो खोली दिएका थिए ।
ट्रम्प माथिको महाभियोगबारे अब संसदनमा ‘ट्रायल’ चल्नेछ । ६७ जना सिनेटरले महाभियोगको पक्षमा मतदान गरे ट्रम्प महाभियोग लागेर पदच्युत हुने पहिलो राष्ट्रपति हुनेछन् । तर, हाउसमा अनुसन्धान हुँदा रिपब्लिकनहरुले एक मुखले उनको बचाउ गरेको कारण आफ्नै दलकै बहुमत रहेको सिनेटबाट उनी विरुद्धको महाभियोग पारित हुने सम्भावना भने न्यून छ । डेमोक्र्याटहरुमा राष्ट्रपति प्रति घृणा भाव रहेको कारण महाभियोग लगाएको रिपब्लिकनहरुले दावी गर्दै आएका छन् । तर विगतमा विपक्षी राष्ट्रपतिलाई जति नपराए पनि सितिमिती महाभियोग लगाउन विपक्ष तयार नहुने विश्लेषकहरुको मत छ ।
ट्रम्पले अमेरिकी संसदले युक्रेनका लागि पारित गरेको झण्डै ४०० मिलियन डलरको सैन्य सहायता रोकेर आफ्ना प्रतिद्वन्दी जो बाइडेन माथि अनुसन्धानको माग गरेको तथ्य बाहिरिएसँगै झन्डै तीन महिना अघि डेमोक्र्याटहरुले महाभियोग प्रकृया अघि बढाएका थिए ।