प्रभात भट्टराई/न्यू ह्यामसर
गत फेब्रुअरी ३ मा सम्पन्न आईवा ककसमा चामत्कारिक जित हासिल गरेसँगै पूर्व मेयर पिट बुट्टिजजको राजनीतिक माहोल एकाएक चुलिएको छ । मंगलबार हुने न्यूह्यामसर प्राइमरीमा पनि उनले सिनेटर बर्नी स्यान्डर्सलाई कडा टक्कर दिने सर्भेक्षणहरुले देखाएका छन् ।
आईवा ककसको मुखमा भएका सर्भेक्षणहरुमा पिट तेस्रो स्थानमा थिए । स्यान्डर्स र पूर्व उपराष्ट्रपति जो बाइडेनले उनलाई उछिनेका थिए । तर, जब डेमोक्रेटिक पार्टीका सदस्यहरु बुथमा उपस्थित भएर मत खसाले पिट सिधा माथि आए । लोकप्रिय मतमा स्यान्डर्स २५ सय हाराहारी मतले अगाडि रहे पनि राष्ट्रपतिको टिकट हत्याउन चाहिने गुणात्मक डेलिगेट्समा पिटले उछिने ।
आईवा डेमोक्रेटिक पार्टीले ककसको अन्तिम नतिजा प्रकाशित गर्न चार दिन लगायो । यदि ३ तारिख राती नै यो नतिजा बाहिरिएको भए पिटको माहोल अझ व्यापक बन्ने विश्लेषकहरुले बताएका छन् । आईवा डेमोक्रेटिक पार्टीले दुई दिन अघि प्रकाशित गरेको अन्तिम नतिजा अनुसार पिटले आईवाका ४१ मध्ये १४ डेलिगेट्स हात पारेका छन् । स्यान्डर्सले १२, सिनेटर एलिजावेथ वारेनले आठ, बाइडेनले छ र सिनेटर एमी क्लोबुचारले एक डेलिगेट्स हात पारेका छन् ।
यी डेलिगेट्सहरु आउँदो जुलाईमा विस्कनसनमा हुने डेमोक्रेटिक पार्टीको राष्ट्रिय सम्मेलनमा सहभागि भएर आफ्नो उम्मेद्वारको पक्षमा मतदान गर्नेछन् । डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको टिकट हत्याउन कुनै पनि उम्मेद्वारले १९९० डेलिगेट्स पुर्याउनु पर्ने हुन्छ ।
सुरुवातमा ककस एवं प्राइमरी निर्वाचन हुने राज्यबाट माहोल बनाउँदै डेलिगेट्सको संख्या बढाउने मिसनमा उम्मेद्वारहरु हुन्छन् । सोही कारण अघिल्लो सातासम्म सबैको ध्यान आईवामा थियो । एक साता यता सबै न्यू ह्यामसरमा केन्द्रित छन् भने मंगलबार पछि उनीहरु पश्चिमको नेभादा उड्नेछन् । फेब्रुअरी २२ मा नेभादा ककस र २९ मा साउथ क्यारोलिना प्राइमरी हुँदैछन् । ककसमा पार्टी सदस्यले मात्र मतदानको अधिकार पाउँछन् भने प्राइमरीमा स्वतन्त्र नागरिकले पनि चाहेको पार्टीको ब्यालेटमा भोट खसाल्न सक्छन् । फेब्रुअरीमा यी चार राज्यको ककस या प्राइमरीबाट धेरै डेलिगेट्स हत्याउँदै सुपर ट्युजडेमा भिडन्तमा पुग्ने उम्मेद्वारहरुको दाउ छ । बिदेशमा बस्ने डेमोक्रेटिक पार्टीको सदस्य (डेमोक्र्याट एब्रोड्स) सहित १६ राज्यमा एकै पटक ककस एवं प्राइमरी निवार्चन हुने सुपर ट्युजडे यसपाली मार्च ३ मा हुँदैछ । त्यो दिन कुल १३५७ डेलिगेट्सको छिनोफानो हुँदैछ । उक्त दिनलाई धेरै उम्मेद्वारले आफ्नो अन्तिम अवसरको रुपमा उपयोग गर्नेछन् ।
आईवाको नतिजा चित्त नबुझाएर पिट र बर्नी क्याम्पेनले पुनः जाँचको माग समेत गरेका छन् । उनीहरुको माग अनुरुप अब यसअघि भएको मत घटाउलाई दोहोर्याएर जाँच गरिनेछ । तर, भोट भने पुनः नगनिने जनाइएको छ । अहिलेसम्मका सर्भेक्षणमा नेभादा र साउथ क्यारोलिना दुबै तिर पिट र बर्नी पछाडि छन् । उनीहरु सकेसम्म धेरै डेलिगेट्स लिएर आफ्नो प्रभाव ती राज्यमा देखाउन चाहन्छन् । मंगलबारको न्यू ह्यामसर प्राइमरीले २४ डेलिगेट्सको छिनोफानो गर्नेछ ।
उम्मेद्वारी घोषणा गर्नु अगावै देखि ‘फ्रन्ट रनर’को रुपमा रहेका पूर्व उपराष्ट्रपति बाइडेन चुनावको मुखमा पुग्दा फिक्का बन्दै गएका छन् । आईवामा चौथो स्थानमा आएसँगै उनी न्यूह्यामसर सर्भेक्षणमा अचानक धकेलिए । केही सर्भेक्षणमा त उनी पाचौँ स्थानमा देखिएका छन् । यदि न्यू ह्यामसरको अन्तिम नतिजामा उनी पाचौँ स्थानमै रहे भने अहिलेसम्म बलियो देखिएको नेभादा र साउथ क्यारोलिनामा पनि पछि पर्न सक्छन् ।
आईवाको कमजोर परिणामको प्रारम्भिक नतिजा उनले भोगि सकेका छन् । सोमबार सार्वजनिक भएको कुन्निपियाक विश्वविद्यालयको देशब्यापी सर्भेक्षणमा पहिलो पटक बाइडेनलाई स्यान्डर्सले उछिनेका छन् । स्यान्डर्सको पक्षमा २४ प्रतिशत मतदाता देखिएका छन् भने बाइडेन १७ प्रतिशतमा खुम्चिएका छन् । उनी देशब्यापी सर्भेमा २० प्रतिशत तल झरेको यो नै पहिलो पटक हो ।
सन् २०१६ को प्राइमरीमा न्यू ह्यामसरमै सानदार जित हासिल गर्दै स्यान्डर्सले अन्तिमसम्म हिलारीलाई टक्कर दिन सफल भएका थिए । त्यसबेला उनले राज्यको प्राइमरीमा ६० प्रतिशत मत पाएका थिए । अहिले उनलाई औषत २५ प्रतिशत समर्थन देखिएको छ । अर्थात २०१६ को तुलनामा आधाबढि मत उनले गुमाएका छन् । तथापी चुनावी चन्दा संकलनमा अग्रस्थानमा रहेका कारण उनी यसपटकको टिकट हत्याउने आफ्नो मिसनमा सबैलाई पन्छाउने आत्मविश्वासमा देखिन्छन् । उनका समर्थकहरुले प्रतिश्पर्धी माथि आक्रामक रवैया अपनाएका छन् । प्राइमरीको पूर्व सन्ध्यामा न्यू ह्यामसर डेमोक्रेटिक पार्टीले गत साता आयोजना गरेको फण्ड रेजिङ डिनरमा बर्नी समर्थकले पिटको भाषणताका पटक पटक अवरोध पुर्याउन खोजेका थिए ।
आईवा ककसको नतिजा नआउन्जेल चौथो स्थानमा रहेका पिटले न्यूह्यामसरमा स्यान्डर्सलाई उछिन्न सक्ने आंकलन समेत भइ रहेको छ । पिटले ‘फ्युचर फर्मर रिपब्लिकन’लाई आफु तिर तान्ने नारा दिएर स्वतन्त्र मतदातालाई आकर्षित गरेका छन् । उनको यो राणनीति आईवामा सफल भइ सकेको हुँदा न्यू ह्यामसरमा पनि त्यसलाई गम्भिरताका साथ लिइएको छ । त्यस अनुरुप पिटले न्यू ह्यामसरको घना बस्ती रहेको नासुआ, डोभर, म्यानचेष्टर लगायतका क्षेत्रमा आईतबार र सोमबार गरेको टाउनहलमा पाँच हजार बढि मतदाता सहभागि भएका थिए । सोमबार नासुआको टाउनहलमा १८ सय बढि ब्यक्ति उपस्थित भएर यो प्राइमरी सिजनको सबैभन्दा खचाखच सभा गर्न समेत पिट सफल भएका थिए । सोही कारण आईवा जस्तै चुनावी नतिजामा उनले चमत्कार गर्न सक्ने आँकलन भइ सकेको छ । नजिते पनि उनले बर्नीलाई कडा टक्कर दिनेमा भने सबै राजनीतिक पण्डितहरु सहमत छन् ।
अर्कोतिर न्यू ह्यामसरको प्राइमरी सबैभन्दा अनुमान गर्न कठिन मानिन्छ । सन् २००८ को प्राइमरीताका सर्भेक्षणहरुमा बाराक ओबामा हिलारी क्लिन्टनभन्दा १० प्रतिशत बिन्दुले अघि थिए । तर, अन्तिम मतगणनामा हिलारी झन्डै तीन प्रतिशत बिन्दुको मतान्तर सहित विजयी भइन् । त्यसैले मंगलबार बेलुका जस्तो नतिजा पनि आउन सक्ने आंकलन भइ रहेको छ ।
यदि न्यूह्यामसरमा पिटको जित या बर्नीसँग कम मतान्तरको हार भएमा बाँकी राज्यमा मध्यमार्गी डेमोक्र्याटको ध्यान अझ उनीतिर सोझिने सम्भावना बढ्नेछ । ३८ बर्षे तन्नेरी, आर्मी भेटरान एवं वासिंटनको बिबादित राजनीतिमा नमुछिएको जस्ता सुविधा उनीसँग छन् । अर्कोतिर आफुलाई सोसलिष्ट डेमोक्र्याटको रुपमा चिनाउने बर्नीले टिकट पाएमा डोनाल्ड ट्रम्पले कम्युनिष्ट आरोप लगाएरै पेल्न सक्ने डर डेमोक्रेटिक रणनीतिकारहरुमा छ । त्यसैले अहिलेसम्म बाइडेनले पाउँदै आएको मध्यमार्गी कार्यकर्ताको साथ पिटमा स्थानान्तरण हुन सक्ने सम्भावना धेरै रहेको विश्लेषण हुन थालेको हो । कैयन् राजनीतिक पण्डितहरुले उनलाई सन् २००७/०८ ताकाको बाराक ओबामाकै रुपमा समेत तुलना गर्न थालेका छन् ।
(तश्विरहरु- एजेन्सी)