काठमाडौं । आइतबार एकाबिहानै विभिन्न संचारमाध्यममा अर्थमन्त्री डा. युवराज खतिवडाको पद हट्ने खबर सार्वजनिक भयो ।
उनको पद अन्य मन्त्रीजस्तै कुनै बदमासी गरेर नभई कानून अनुसार नियमित कार्यकाल पुरा गरी उनी बिदा हुँदैछन् ।
किनकी उनको सांसद पद दुई वर्षे कार्यकालका लागि हो । २० फागुनबाट उनको सांसद पद रहने छैन ।
त्यसअवस्थामा अर्थमन्त्रीका रुपमा उनले कार्यभार निरन्तरता दिन कानूनी अड्चन रहेको छ ।
किनकी संविधानअनुसार सांसद नभएको मानिस मन्त्री हुने प्रावधान छैन । त्यसो त दोस्रो कार्यकालका लागि राष्ट्रपतिबाट उनको पुनः नियुक्ति भएमा भने अर्थमन्त्री पद यथावत रहन सक्छ ।
तर, नेकपाले राष्ट्रिय सभा सांसदमा बामदेव गौतमलाई ल्याउन लागेको खबर एकाएक सार्वजनिक भएपछि यसको प्रभाव शेयर बजारमा परेको छ ।
आइतबार सेयर बजारमा अहिलेसम्मकै उच्च कारोबार भएको कीर्तिमान बनेको छ ।
नियमित कारोबार हुने १७६ कम्पनीको किनबेचबाट कारोबार रकम ३ अर्ब ६० करोड ८५ लाख रुपैयाँ नाघेको हो ।
सूचक समेत एकै दिन ६९.५६ अंकले बढेको छ । नेप्से परिसूचक ३० महिनायताकै उच्च बिन्दुमा पुग्दा १५०४ अंकमा दिनको कारोबार बन्द भएको छ ।
विश्लेषकहरु आजको परिवर्तनलाई वर्तमान अर्थमन्त्री डा. युवराज खतिवडासँग तर्सिरहेका लगानीकर्ताको प्रभाव मान्छन् ।
किनकी अर्थमन्त्रीले नीतिगत रुपमा कुनै निर्णय नलिएपनि शेयर कारोबारलाई अनुत्पादक ठान्ने उनको परम्परागत सोचबाट लगानीकर्ता तर्सिरहेका छन् ।
आइतबार सबैभन्दा बढि जीबन बीमा कम्पनी १९२ अंकले बढेको छ। निर्जीवन बीमा कम्पनी १४० र बैंकिङ ८६ अंकले बढेको छ।
विकास बैंक ८५ र लघुवित्त ५५ अंकले वृद्धि भएको हो । दिनभर भएको कारेबारबाट १४२ कम्पनीका सेयरधनीले कमाएका छन्।
गुमाउने २७ कम्पनीका लगानीकर्ता रहेको छन् । १२ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढिले उक्लियो ।
तारागाउँ रिजेन्सी, वरुण हाइड्रो, पञ्चकन्या माइ, नेशनल हाइड्रो र ओरेन्टल होटलका लगानीकर्ता गुमाउने तर्फ परेका छन् ।