महासंकटमा अमेरिका, सुरु भयो आर्थिक मन्दीको चिन्ता

प्रभात भट्टराई/अमेरिका
कोरोना भाइरसको प्रकोप बढ्दै जाँदा अमेरिका कहालीलाग्दो संकटको चरणमा प्रवेश गरेको छ । सुरुमा भाइरसलाई खासै मतलव नगरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बोली कमजोर बन्दै जाँदा नागरिकमा त्रासको मात्रा आकाशिएको हो ।

अमेरिकामा जनवरी तेस्रो साता पहिलो कोरोना भाइसर संक्रमित व्यक्ति फेला परेका थिए । त्यसपछि धेरैले अब गम्भिर बन्ने बेला आएको सुझाव दिए पनि ट्रम्पले पत्याएनन् । कहिले निणन्त्रणमा आइ सकेको त कहिले विदेशी भाइरसले अमेरिकालाई केही गर्न नसक्ने दावीका साथ ट्रम्पले आफ्नै प्रशासनका स्वास्थ्य विज्ञहरुको सुझाव बिपरित बक्तव्य जारी गरिराखे । उनको भनाइलाई समर्थन पुर्याउन केही रिपब्लिकन जनप्रतिनिधीहरुले समेत रेष्टुरेन्ट गएर खान एवं बारमा गएमा रमाइलो गर्न सुझाव दिइ रहे ।

ट्रम्पप्रति निरपेक्ष समर्थनमा रहेको फक्स न्यूज लगायत ‘कन्जरभेटिम’ समाचार संस्थाहरुले पनि यस्तै धारणा एवं खवरहरु बजाए । सुरुमा त उनीहरु कोरोना भाइरसलाई डेमोक्र्याट र लिबलर मिडियाले चलाएको हौवा बताउँदै थिए । तर, एक पछि अर्को संक्रमित फेला पर्ने र विज्ञहरुले गम्भिरता दर्शाइ रहँदा नागरिकमा एक किसिमको छटपटी सुरु भइ सकेको थियो । सोही कारण गत साता देखिनै अमेरिका भर आवश्यक पर्ने खाद्य सामग्री एवं दैनिक उपभोग्य वस्तुहरु ट्वाइलेट पेपर देखि ह्यान्ड स्यानिटाइजर घरमा थन्क्याउने क्रम बढ्यो । अहिले प्रायः सबै स्टोरमा ट्वाइलेट पेपर एवं पेपर टावेल राखिएको ठाउँ खाली भइ सकेका छन् । ह्यान्ड स्यानिटाइजर पाउनै छोडेको छ भने खाद्यान्न र तरकारीकै अभाव हुन सक्ने देखिएको छ । हरेक स्टोरमा घटौँ लामा लाइन लाग्न थालेका छन् ।

राष्ट्रपति ट्रम्प आईतबारसम्म पनि भाइरस नियन्त्रण भित्रै रहेको दावी गरि रहेका थिए । अझ गत शुक्रबार ह्वाइट हाउसमा बिभिन्न औषधी एवं खाद्यान्न बिक्रेता कम्पनीका प्रमुख कार्यकारीहरुसँग पत्रकार सम्मेलन गर्दै भाइरस नियन्त्रणका लागि अब सहज जाँचको व्यवस्था मिलाइएको बताएका थिए । साढे तीन बजे ट्रम्पको पत्रकार सम्मेलन सुरु भए पछि सेयर बजार एकाएक आकाशिएर बढेको थियो । एकातिर खुद्रा ब्यापारमा काम गर्ने प्रमुख सिइओहरुको सहकार्य अर्कोतिर राष्ट्रपतिले भाइरस नियन्त्रणमा रहेको बताए पछि आधा घण्टा भित्र डाउजन इण्डष्ट्रियल एभरेज एक हजार अंकले उक्लिन पुग्यो र समग्रमा झन्डै दुई हजार अंकको बृद्धि सहित बन्द भयो ।

मुलुकभर कोरोना भाइसरको कहर गहिरिँदै जाँदा ट्रम्पका लागि भने उक्त बृद्धि उत्सवको विषय बन्यो । उनले शुक्रबार दिन भरको कारोबार चार्टमा अटोग्राफ दिएर फक्स न्यूजमा पठाएका थिए । फक्सले साँझ ठुलै खड्गो पार गरेर ट्रम्प प्रशासनले मुलुकलाई नयाँ गति दिलाएको ढंगले उक्त चार्ट प्रचार गर्यो । तर, त्यो फुर्ती फार्ती दुई दिन पनि टिकेन । सोमबार बजार खुल्दा नै १० प्रतिशतले घटेपछि सर्किट ब्रेक लगाउनु पर्यो । दिनभर ६ देखि १० प्रतिशत गिरावटको बिचमा कारोबार चालु थियो । जब सवा तीन बजे कोरोना बिफ्रिङका लागि ट्रम्प ह्वाइट हाउसको पत्रकार भेटभाट कक्षमा उपस्थित भए बजार पहिरो शैलीमा ओरालो लाग्यो । मंगलबार भने खुले देखिनै बजारमा तिब्र उतार चढाव देखिएकाे छ ।

हिजोसम्म कोरोना माथि आफ्नो नियन्त्रण रहेको बताउँदै आएका ट्रम्पले सोमबार बल्ल सत्य स्वीकारे । भाइरस नियन्त्रणमा आउन कम्तिमा जुलाई अगष्टसम्म लाग्ने ट्रम्पको प्रष्टोक्तिसँगै सेयर बजारमा बिक्रीको चाप ह्वात्तै बढ्यो । र, डाउजन इण्डष्ट्रियल एभरेज तीन हजार अंकले घटेर बन्द हुन पुगेको छ । साथै उनले १० जनाभन्दा बढि एकै ठाउँमा भेला हुन रोक लगाएका छन् भने रेष्टुरेन्ट र बारहरु बन्दका लागि आह्वान गरेका छन् ।

ट्रम्पले सत्य स्वीकारेर भाइरस नियन्त्रणमा आउन समय लाग्ने बताए पनि भाइरस जाँच किटहरु सर्वसुलव हुन सकेका छैनन् । विश्व स्वास्थ्य संगठनले दिन प्रस्ताव गरेका किट ट्रम्प प्रशासनले आफैँ बनाउने भन्दै लिन अटे। गरेको थियो । अमेरिकी मिडियाहरुका अनुसार अहिलेसम्म ३० हजार हाराहारीको मात्र जाँच गरिएको छ । १० बर्ष अघि स्वाइन फ्लु महामारी आउँदा बाराक ओबामा प्रशासनले सुरुमै गम्भिरता मनन गरि केही महिना भित्रै लाखौँ जाँच किटहरु देशभर पठाएका थिए । पहिलो अमेरिकीले ज्यान गुमाउने वित्तिकै उनले देशब्यापी जनस्वास्थ्य संकटकाल घोषणा गरेका थिए । ट्रम्प भने अमेरिकीले ज्यान गुमाउन थाल्दा पनि यो प्रकरणमा मजाककै विषय बनाइ रहे । स्थिती नियन्त्रण बाहिर जान थाले पछि बल्ल उनले गत शुक्रबार उनले संकटकाल घोषणा गरे । त्यस अघि कैयन् गभर्नरले ट्रम्पलाई उछिन्दै सम्बन्धित राज्यमा संकटकाल घोषणा गरि सकेका थिए ।

आईतबारको पत्रकार सम्मेलनमा भने ट्रम्पले अर्थतन्त्रमा मन्दीको संभावनालाई पनि स्वीकारेका छन् । कोरोना भाइरसको कारण आवतजातव ठप्प हुँदा एयरलाईन्स, क्रुजसिप, होटल लगायत उद्योगमा गम्भिर असर परेको छ । एयरलाईन्स उद्योगले त ५० अर्ब डलरको बेल आउट (राहत प्याकेज) माग गरि सकेको छ । अब बार र रेष्टुरेन्टहरु बन्द हुँदा त्यसको थप चोट अर्थतन्त्र र रोजगारीलाई पर्नेछ । त्यसमाथि भाइरस नियन्त्रणमा आउन कम्तिमा पाँच महिना लाग्ने ट्रम्पको प्रष्टोक्तिले सेयर बजार देखि अन्य क्षेत्रमा पनि थप दबाब बढ्नेछ ।

उपभोक्तामा गम्भिर त्रास सञ्चार भइसक्दा पनि ट्रम्प प्रशासनले गम्भिरता देखाउन ढिला गर्दाको नराम्रो परिणामले अमेरिकाले भोग्नु पर्ने चिन्ता बढेको छ । अहिलेसम्म वेष्ट भर्जिनिया बाहेक सबै अमेरिकी राज्यमा कोरोना भाइरस संक्रमित फेला परि सकेका छन् । सोमबार साँझसम्म अमेरिकामा चार हजार बढि भाइरस पिडित फेला परेका छन् भने छ ८० बढिको मृत्यु भइ सकेको छ । न्यूयोर्क जस्तो घनावस्ती भएको सहरमा रोगीको संख्या तिब्र गतीमा बढि रहेको छ । अब थप जाँच हुँदै जाँदा रोगीको संख्या अझै उकालो लाग्नेछ । यसले नागरिकको मनोविज्ञान कुन दिशा तर्फ लैजाला भन्ने त्रास पनि बाँकी नै छ ।