सिनेटर बर्नी स्यान्डर्स राष्ट्रपतिय होडबाट बाहिरिए, पूर्व उपराष्ट्रपति बाइडेन र ट्रम्पको प्रतिश्पर्धा निश्चित

न्यूयोर्क

सिनेटर बर्नी स्यान्डर्सले आफ्नो राष्ट्रपतिय होड अन्त्य गरेका छन् । बुधबार ट्विटर लाइभबाट आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै स्यान्डर्सले उम्मेद्वारी प्रकृयाबाट बाहिरिएको जनाएका हुन् ।

पहिलो डेमोक्रेटिक ककस भएको आईवामा सर्वाधिक लोकप्रिय मत एवं न्यूह्यामसर प्राइमरी र नेभादा ककस जितेपछि स्यान्डर्स डेमोक्रेटिक पार्टीको सम्भावित उम्मेद्वारकै रुपमा उदाएका थिए । तर, साउथ क्यारोलिनामा पूर्व उपराष्ट्रपति जो बाइडेनको सानदार जित लगत्तै प्रतिश्पर्धी उम्मेद्वारहरु सिनेटर एमी क्लोबुचार र मेयर पिट बुट्टिजजले आ-आफ्नो क्याम्पेन स्थगित गर्दै बाइडेनलाई समर्थनको घोषणा गरे । त्यसको नतिजा स्वरुप मार्च ३ मा (पहिलो सुपर ट्युज्डे) प्राइमरी निर्वाचन भएका १४ मध्ये १० राज्य बाइडेनको पक्षमा गए ।

त्यही बेला स्यान्डर्स पार्टीको टिकट हत्याउन आवश्यक पर्ने डेलिगेट्स गणनामा पछि परे । चार बर्ष अघि हिलारी क्लिन्टनसँगको प्राइमरी प्रतिश्पर्धामा सहज जित हात पारेका मासाचुसेट्स, मेन, वासिंटन, मिनिसोटा जस्ता राज्यमा स्यान्डर्स ठूलो मतान्तरले पराजित भए ।  सन् २०१६ मा चामत्कारिक जित हासिल गरेको मिसिगनमा पनि उनलाई बाइडेनले दोहोरो अंकको मतान्तरले हराए । अघिल्लो पटक उनले सहज जित हासिल गरेको विसकनसनमा पनि दोहोरो अंकले नि बाइडेन अगाडि रहेको आँकडा मत सर्भेक्षणहरुले देखाइ रहेका थिए । विसकनसनका मतदाताले कोरोना संक्रमणको त्रासबीच मंगलबार मतदान गरेका छन् । नजिता भने सोमबार सार्वजनिक हुनेछ ।

तश्वीर: युएसए टुडे

पछिल्लो समय स्यान्डर्स डेलिगेट्स गणनामा बाइडेनभन्दा ३०० सयले पछि थिए । पार्टीको टिकट हत्याउन आवश्यक पर्ने १९९१ जना डेलिगेट्स पुर्याउन प्राइमरी निर्वाचन हुन बाँकी सबै राज्यमा स्यान्डर्सले ६० प्रतिशत बढि मत ल्याउन आवश्यक हुन्थ्यो, जुन संभव थिएन । त्यही असम्भवलाई स्वीकार्दै उनले आफ्नो क्याम्पेन अन्त्यको घोषणा गरेका हुन् । समर्थकहरुलाई ट्विटर लाइभबाट गरिएको सम्बोधनमा उनले पूर्व उपराष्ट्रपति बाइडेनलाई बधाई दिँदै डोनाल्ड ट्रम्पलाई पराजित गर्न आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।

सन् २०१६ को प्राइमरीमा स्यान्डर्सले २३ राज्य एवं अमेरिकी टापुहरुको चुनाव जितेका थिए । उनी क्लिन्टन बिरुद्ध अन्तिमसम्म प्रतिश्पर्धा गरेका थिए । अहिले ३० राज्य एवं अमेरिकी टापुहरुमा प्राइमरी चुनाव सम्पन्न हुँदा स्यान्डर्सले नौ वटामा मात्र जित हासिल गरेका छन् भने बाँकी कुनै पनि जित्ने सम्भावना देखिएको छैन । त्यसमाथि कोरोना भाइरस संक्रमणका कारण प्राइमरी निर्वाचन प्रभावित भइ रहेको छ ।

जुलाई दोस्रो सातालाई तय डेमोक्रिटक राष्ट्रिय सम्मेलन पनि भाइरसको कारण एक महिना पछि सारिएको छ । सम्मेलनले बाइडेनलाई पार्टीको तर्फबाट उम्मेद्वार मनोनयनको औपचारिकता पुरा गर्नेछ । बाइडेन पार्टीको उम्मेद्वार बन्ने बाटो तय भएसँगै उपराष्ट्रपतिको उम्मेद्वारको खोजीमा लागि सकेका छन् । उनले महिलालाई उपराष्ट्रपतिको उम्मेद्वार बनाउने घोषणा यसअघि नै गरि सकेका कारण सिनेटरहरु कमला ह्यारिस या एमी क्लोबुचारमध्ये एक जना उनको ‘रनिङमेट’ बन्ने अपेक्षा गरिएको छ ।

डेमोक्रेटिक मतदाताहरु ट्रम्पको नेतृत्वप्रति अत्यधिक क्रुद्ध रहेका छन् । सोही कारण उनीहरु जसरी पनि ट्रम्पलाई ह्वाइटहाउसबाट हटाउन चाहन्छन् । त्यसका लागि आफ्नो राजनीतिक एजेन्डाभन्दा पनि नोभेम्बरमा जित्न सक्ने उम्मेद्वारलाई चयन गरेको बताउने डेमोक्रेटिक मतादाता लगातार बढि रहेका थिए । सर्वाधिक चन्दा संकलन एवं युवा पिँढीको बलियो साथ हुँदा पनि स्यान्डर्सले बाइडेनलाई हराउन नसक्नुको कारण त्यही हो । पार्टीको उम्मेद्वारी हासिल नगरे पनि स्यान्डर्सले मेडिकेयर फर अल, कामदारको न्यूनतम ज्याला प्रतिघण्टा १५ डलर, बिद्यार्थीको अध्ययन कर्जा मिनाहा, धेरै नाफा कमाउने कम्पनी माथि कर बृद्धि जस्ता सुधारबादी एजेन्डामा डेमोक्रेटिक पार्टीलाई केहीहदसम्म भए पनि ढल्काउन सफल भएका छन् । र, उनी उम्मेद्वार नभए पनि यी मुद्दामा डेमोक्रेटिक पार्टी भित्र नयाँ चरणको बहस सुरु हुने निश्चित छ ।