काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काममाथि सरकारले हस्तक्षेप नगर्ने बताएका छन् ।
बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३० औं स्थापना दिवसका अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले निष्पक्ष ढंगले काम गर्ने वातावरण निर्माण गर्न सरकार तयार रहेको बताए । उनले अख्तियारलाई दबाब र प्रभावमा पार्ने काम नगर्न पनि चेतावनी दिएका छन् ।
‘अख्तियार लाचार छायाँ होइन । सरकारबाट आयोगमाथि कुनै हस्तक्षेप हुँदैन । आफ्नो कर्तव्य निष्पक्ष ढंगले पूरा गर्नु । यसमा भनसुन, दबाब, टाउकाको माया छ कि छैन् भनेर धम्की दिने काम नगरे हुन्छ, त्रासबाट मुक्त भएर काम गर्नु । सुरक्षाको व्यवस्था सरकारले गर्छ’, उनले भने ।
प्रधानमन्त्री अोलीले निर्वाचनपछि अख्तियारको कानून पारित भएर आउने भएकाले काम गर्न थप सहज हुने बताएका छन् । उनले अख्तियारले विगत २० वर्षमा सकारात्मक योगदान पुर्याएको भन्दै अख्तियारले निर्दोष मानिसहरुलाई मुद्दा लगाएर दुःख दिन नहुने बताए ।
‘अख्तियारले निर्दोष मान्छेमाथि आरोप लगाउने र मुद्दा दायर गर्नु हुँदैन । त्यसो हुँदा काम गर्ने मानिसहरुलाई हतोसाही बनाउँछन्’, उनले भने, ‘अख्तियारले मुद्दा दायर गर्नुभन्दा अगाडि तथ्यहरुका आधारमा एकीन गरेर मात्र मुद्दा दर्ता गर्नुपर्छ । अख्तियारबाट दोषीहरु थर्कमान हुनुपर्छ । अख्तियारले कारबाही गर्न नसक्ने ठाउँ छैन् भनेर काम गर्नुपर्छ ।’
प्रधानमन्त्री ओलीले नेपालमा भ्रमष्टाचार कन्ट्रोल हुने दाबी गरे । उनले सञ्चारमाध्यमहरुले भ्रष्टाचारबारे सत्यतथ्य विषय बाहिर ल्याउनुपर्ने बताए । प्रधानमन्त्री ओलीले सबेलाई भ्रष्टाचारीको आँखाले हेर्न नमिल्ने बताए ।
उनले सरकारले विकास गरेका नागरिक एपहरुले भ्रष्टाचार नियन्त्रणमा सहयोग पुर्याउने बताए । नागरिक एपले भ्रष्टाचार नियन्त्रणमा सहयोग पुर्याउने उनको भनाई छ ।
‘भ्रष्टाचार नियन्त्रणका मुख्य केन्द्रहरु डिजिटल सिस्टममा गएपछि लेनदेन गर्नै नपरेपछि, पैसा बुझाउन व्यक्ति अफिसमा जानु नपरेपछि, अफिसमै गएर मेरो फाइल के भयो कसो भयो भन्न नपरेपछि अनलाइनबाट काम हुने भएपछि यसले भ्रष्टाचार नियन्त्रणमा मद्दत पुर्याउँछ’, उनले भने ।