काठमाडौं । अग्नी सापकोटा नयाँ सभामुख बन्ने भएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उनको नाम सिफारिस गरेको हो ।
यसअघि नेकपाका शीर्ष नेतृत्वले सापकोटाको नाममा सहमति जुटाएको थियो । त्यसपछि सचिवालयले बैठकले औपचारिक रुपमा उनको नाम अनुमोदन गरेको हो ।
अब सोमबार हुने निर्वाचन प्रक्रियाबाट उनी सभामुख बन्ने भएका छन् । सोमबार नै नेकपाको संसदीय दलको बैठक समेत बस्ने भएको छ ।
सभामुख उमेदवार बन्ने सापकोटा नेकपा स्थायी कमिटी सदस्य तथा प्रतिनिधिसभा सदस्य हुन् ।
उनी नेकपाको पार्टी एकताअघि माओवादी खेमामा रहेका थिए । उनी जनयुद्धमा सक्रिय भूमिकामा थिए भने जनआन्दोलनमा समेत माओवादीको उपत्यका ब्यूरो सम्हालेका थिए ।
उनी सांसदका रुपमा तीन पटकसम्म निर्वाचित भइसकेका छन् । उनी सिन्धुपाल्चोकका स्थायी बासिन्दा हुन् ।
उनी नेकपा अध्यक्ष प्रचण्डका विश्वासपात्र हुन् । प्रचण्डकै सिफारिसमा उनी सभामुख बन्न सफल भएका हुन् । ०५१ सालयता उनी अनवरत रुपमा प्रचण्डको सहयोगीका रुपमा रहिआएका छन् ।
पूर्वसभामुख कृष्णबहादुर महरामाथि बलात्कार प्रयासको आरोप लागेपछि उनले राजिनामा दिएका थिए । त्यसपछि यो पद रिक्त थियो ।
नेकपामा निकै विवाद र वहसका बीच नयाँ सभामुखको टुंगो लागेको हो ।