मस्को । युद्धरत अजरबैजान र आर्मेनिया युद्ध रोक्न सहमत भएका छन् । आफ्ना दर्जनौं सैनिक मारिएपछि दुबै मुलुक युद्ध रोक्न सहमत भएका हुन् । यद्दपी उनीहरुलाई रूसले हस्तक्षेप गरेको छ । अन्तराष्ट्रिय संचारमाध्यमहरुका अनुसार रुसको हस्तक्षेपसँगै युद्धरत आर्मेनिया र अजरबैजान अस्थायी युद्धविरामका लागि तयार भएका हुन् ।
विवादित नागोर्नो काराबाख क्षेत्रमा प्रभुत्व स्थापित गर्न यतिखेर पूर्व सोभियत संघका दुई देश युद्ध गरिरहेका थिए । रसियाली विदेशमन्त्री सर्गेई लाव्रेभका अनुसार दुबै मुलुक अस्थायी युद्धविरामका लागि तयार छन् । यसमा रूसले मध्यस्थता गरेको हो ।
मस्कोमा अजरबैजान र आर्मेनियाका अधिकारीहरुबीचको करीव १० घण्टा लामो संवादले युद्धबिरामको बाटो बनेको हो । वार्तामा रूसले दुबै मुलुकलाई युद्ध अन्त्य गर्न हस्तक्षेपकारी भूमिका खेलेको छ ।
युद्धविरामसँगै दुवै देशले युद्धमा मारिएका आफ्ना सैनिकको शव बुझ्नेछन् र एक अर्कोले युद्धबन्दी बनाएका सैनिकलाई छाड्ने छन् । युद्ध शुरू भएपछि अजरबैजान र आर्मेनियासँग रूसले पहिलोपटक प्रत्यक्ष संवादमा जुटेका हुन् । सेप्टेम्बर २७ देखि शुरू युद्धमा तीन सयभन्दा बढी सैनिक तथा सर्वसाधारण मारिइसकेका छन् । ।