अझै खुलेनन् देशभरका मूख्य राजमार्ग

File

काठमाडौं । बाढी र पहिरोका कारण अवरुद्ध भएका मूख्य राजमार्गको अवरोध अझै जारी रहेको छ । ठूलो पहिरो आएको, पुल नै बगाएको र कतिपय स्थानमा पानी पर्ने क्रम जारी रहेका कारण समेत यातायात सूचारु गर्न समस्या भइरहेको सडक विभागले जनाएको छ । पहिरो हटाउन समस्या भएपछि काठमाडौं जोड्ने मुख्य राजमार्ग पृथ्वी राजमार्ग नै खुलाउन सकिएको छैन । यो राजमार्ग अझै केही दिन अवरुद्ध हुने देखिएको छ । यसले अत्यावश्यक वस्तुको ढुवानी समेत प्रभावित हुने देखिएको छ ।

पृथ्वी राजमार्गको चितवन र धादिङ जोड्ने मौवाखोलाको पुल भत्किएको छ । उता, मुग्लिन पश्चिम विमलनगरमा ढुंगासहितको पहिरो खसिरहेको छ । यसले समेत पृथ्वीराजमार्गको अवरोध हटाउन समस्या भएको हो । पृथ्वी राजमार्गमा मात्रै साना ठूला गरी झण्डै दुई सय ठाउँमा पहिरो खसेको विभागको भनाई रहेको छ । उता, नारायणगढ मुग्लिन सडकखण्डको १७ किलोमा खसेको पहिरो भने केही हटाएर एकतर्फी यातायात संचालन भएको छ । यसले चितवनबाट पोखरा जाने मानिसहरुलाई केही सहज भएको छ ।

सिद्धार्थ राजमार्गमा समेत दर्जनौं स्थानमा पहिरो गएपछि पहाडी भेगतर्फ जाने बाटो अवरुद्ध भएको छ । अरनिको राजमार्गमा समेत अवरोध कायम छ । अरनिको राजमार्गको जबमु, झ्याले, शिरिसे, डाकलाङ लगायतका ठाउँमा बाढीले सडक बगाएको छ । पश्चिममा सांफेबगर –मार्तडी सडकको अम्कोट द्धावारी खण्ड अवरुद्ध भएको छ ।

बेनी जोमसोम कोरोला सडकको दाना, काभ्रेभिर, घोप्टेभिर र गलेश्वरमा बेलिब्रिज बगाएपछि सडक अवरुद्ध हुने पुगेको छ । बेसीशहर – चामे सडकको घोप्टे खोला, रामबजार र च्याम्चेमा पहिरोले सडक संचालनमा अवरोध आएको सडक विभागले जनाएको छ ।