काठमाडौं । कोरोना भाइरसको महामारी फैलिएसँगै अतिआवश्यक काम नपरी विदेश भ्रमणमा नजान सरकारले नागरिकलाई आह्वान गरेको छ । अध्यागमन विभागले बुधबार ट्राभल एडभाइजरी जारी गर्दै यस्तो आह्वान गरेको हो । विभागको ट्राभल एडभाइजरीमा भनिएको छ, ‘नयाँ भेरियन्टको संक्रमणको जोखिम भएको मुलुकहरुमा नेपालबाट यात्रा गर्न योजना बनाएका व्यक्तिहरुले अति आवश्यक अवस्था बाहेक यात्रा नगर्न अनुरोध गरिन्छ ।’
गत सोमबारको गृहमन्त्रिस्तरीय निर्णय अनुसार विभागले बुधबार ट्राभल एडभाइजरी जारी गरेको छ । नेपाल सरकारले ओमिक्रोनको संक्रमण शुरुमै देखिएका दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाबे, नामिबिया, लेसोथो, इन्वाटिनी, मोजाम्बिक, मलावी र हङकङबाट सिधै नेपाल आउन वा ती मुलुकलाई ट्रान्जिट बनाएर नेपाल आउन १६ मंसिरबाटै रोक लगाएको थियो । रोकको निर्णयले निरन्तरता पाएको छ । तीन साता भित्र ती मुलुकको भ्रमण गरेका यात्रुले समेत नेपाल आउन पाउँदैनन् ।
यी दुई मुलुकबाहेकका देशबाट आउने विदेशी नागरिक (गैरआवासीय नेपालीसमेत)ले विदेशबाट ८ असोजमा जारी भएको नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुको यात्रा व्यवस्थापनसम्बन्धी आदेश २०७८ का प्रावधानका आधारमा नेपालको भ्रमणमा आउन सक्छन् । जस अनुसार खोपको मात्रा पूरा गरेका र पीसीआर नेगेटिभ भएका विदेशी नागरिकले नेपालमा अनअराइभल भिसा सुविधासहित प्रवेशको अनुमति पाउँछन् ।
अध्यागमन विभागका अनुसार पूर्ण खोप लगाएको १५ दिन पुगेको र बोर्डिङपास जारी हुनु भन्दा ७२ घण्टा भित्रको पीसीआर परीक्षण रिर्पोट नेगेटिभ भएका नेपाली नागरिक, कुटनीतिक वा अफिसियल पासपोर्ट बाहक वा आवासीय भिसा प्राप्त गरेका विदेशी नागरिकले कोभिड १९ सँग मिल्दोजुल्दो लक्षण नदेखिएको अवस्थामा घरमै १० दिन क्वारेन्टिन बस्ने गरी प्रवेश अनुमति दिइने भएको छ ।
पूर्ण खोपको मात्र पूरा नगरेका वा खोपको मात्रा पूरा गरेको १४ दिन नपुगेका नेपाली नागरिकले नेपाल प्रवेश विन्दुमा एन्टिजेट अनिवार्य परीक्षण गर्दा रिर्पोट पोजेटिभ देखिएकालाई संस्थागत आइसोलेसनमा पठाइने भएको छ । परीक्षण रिर्पोट नेगेटिभ आएकालाई भने १० दिन घरमै क्वारेन्टिन बस्ने गरी प्रवेशको अनुमति दिइने भएको छ ।
खोपको मात्रा पूरा नगरेका वा खोपको मात्रा पूरा गरेको १४ दिन नपुगेका कुटनीतिक वा अफिसियल पासपोर्ट बाहक वा आवासीय भिसा पाएका विदेशीले नेपाल प्रवेश विन्दुमा एन्टिजेन अनिवार्य परीक्षण गर्दा रिर्पोट पोजेटिभ आएमा संस्थागत आइसोलेसन वा सम्बन्धित कुटनीतिक नियोगको जिम्मेजारीमा होम आइसोलेसनमा पठाइने भएको छ । नेगेटिभ आएकालाई भने होम क्वारेन्टिन वा होटेल क्वारेन्टिनमा बस्ने गरी प्रवेश अनुमति दिइने भएको छ