अत्यावश्यक सेवाका कामदार निर्वाध घरबाहिर निस्कन पाउने

काठमाडौं । काठमाडौंमा कडा लकडाउन छ । घरबेटीले ताल्चा लगाएर गेट बन्द गरेका छन् । जसले गर्दा निर्वाध काममा निस्कन समस्या भएको गुनासो कामदारले गरेका छन् ।

सोहीकारण सरकरले घरबेटीसँगै आह्वान नै गर्नुपरेको छ । अत्यावश्यक सेवामा काम गर्ने कामदारले घर बाहिर निस्कन रोक्न पाउने छैनन् ।

घरपरिवारले समेत यस्तो सेवाका खटिएका आफ्नो परिवारका सदस्यलाई रोक्न पाउने छैनन् ।

आपूर्ति मन्त्रालयले अत्यावश्यकीय वस्तु तथा सेवाको उत्पादन, ढुवानी तथा बिक्रीवितरणमा संलग्न श्रमिकहरुलाई काममा जानबाट नरोक्न सम्बद्ध परिवार तथा घरबेटीहरुलाई आग्रह गरेको छ ।

त्यस्तो सेवाका लागेका कामदार समेत घरमै बस्न चाहेको सन्दर्भमा काममा लगाउने कम्पनी तथा उद्यागले पर्याप्त सुरक्षा प्रवन्ध गर्न सरकारले आग्रह गरेको छ ।

मन्त्रालयले भनेको छ, ‘श्रमिक तथा अन्य जो कोही जनशक्तिले संकटको यस घडीमा आफ्नो सुरक्षाको समेत ख्याल गर्दै पेशागत जिम्मेवारी, नैतिकता र इमानदारिताको पूर्ण पालना गर्नु पर्ने हुन्छ ।

त्यसैले मन्त्रालय सम्बद्ध सबैलाई सचेतना, सजगता र पूर्ण सुरक्षा सहित आफू, आम उपभोक्ता र मलक सबैको संरक्षणका लागि जिम्मेवार भई सरकारलाई सहयोग गर्न हार्दिक अपिल गर्दछ ।’

सरकारले संचालनमा रहने उद्योग, ढुवानीकर्ता र बिक्रेताहरुलाई कामदारहरुलाई निश्चित सवारी साधनमार्फत ल्याउने, पुर्‍याउने, कार्यस्थलमा प्रवेश गर्नुपूर्व र कार्यालय भित्र समय समयमा साबुन पानीले हात धुने, सेनिटाइजरको प्रयोग गर्ने, मास्क तथा पञ्जा लगाउने, निर्धारित न्यूनतम दूरी कायम गरी काम गर्ने, न्यूनतम जनशक्तिबाट काम गराई आलोपालोमा बोलाउने, सेवाग्राहीको भीड हुन नदिन आवश्यक प्रबन्ध मिलाउने जस्ता व्यवस्थाहरु अनिवार्य रुपमा गर्नु पर्ने बताएको छ ।

उद्योग कलकारखाना तथा अन्य सरोकारवालाले मापदण्ड पुरा गरे नगरेको अनुमगन मन्त्रालले गर्ने भएको छ ।

सरकारले अत्यावश्यक खाद्य वस्तुका सबै स्टोर एवम् विक्रेताहरुले आम उपभोक्तालाई मोबाइल भ्यान मार्फत होम डेलिभरी गर्ने व्यवस्था मिलाउन समेत आग्रह गरेको छ ।

माग संकलन र वस्तु वितरण गर्ने कार्यलाई सहज एवम् व्यवस्थित गर्नको लागि बिक्रेताहरुले आ-आफ्नो टोल प्रिm नम्बर वा अन्य नम्बर उपलब्ध गराई प्रचार प्रसार गर्ने व्यवस्था मिलाउनु पर्ने मन्त्रालयको निर्देशनमा उल्लेख छ ।