काठमाडौं । लामो खडेरीका कारण समस्यामा परेका पहाडी भेगका कृषकलाई मंगलबार अधिकांश स्थानमा परेको वर्षाले राहत दिएको छ । मंगलबार काठमाडौं उपत्यका, पोखरा तथा पहाडी भेगका अन्य इलाकामा समेत वर्षा भएको छ । यसले मकै तथा तरकारी बालीलाई फाइदा पुगेको छ । पहाडी केही ठाउँमा बुधबार समेत मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मुख्यगरी गण्डकी, मधेश, वाग्मती र प्रदेश एकका केही ठाउँमा मेघगर्जन र चट्याङगसहित वर्षा भएको महाशाखाको भनाई छ । बुधबार पहाडी क्षेत्रमा मौसम आँशिक बदली हुने र केही ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ । बुधबार प्रदेश एक, मधेश प्रदेश, वाग्मती र गण्डकी प्रदेशका थोरै ठाउँमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना छ ।
अहिले नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । प्रि मनसुनमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना हुने भएकाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ । देशका तराई तथा चुरे क्षेत्रमा भने तापक्रम बढ्दो क्रममा रहेकाले जोगिन महाशाखाले अनुरोध गरेको छ ।