काठमाडौं । नेपालमा चर्को आलोचनाका बीच अध्यागमन विभागले शुक्रबारको नियम तत्कालका लागि हटाएको छ । कोरोनाको पछिल्लो ओमिक्रोन भेरियन्टको जोखिम बढेको भन्दै अध्यागमन विभागले विभिन्न ६७ देशबाट आउने यात्रुका लागि सात दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने नियम शुक्रबार सार्वजनिक गरेको थियो । शनिबार अर्को सूचना जारी गरि अर्को सूचना जारी नभएसम्मका लागि यो नियम स्थगित भएको जनाएको छ ।
यात्रा प्रतिवन्ध र ७ दिन होटलमा अनिवार्य क्वारेन्टाइन सम्बन्धी सूचना अर्को सूचना नभएसम्मका लागि स्थगित गरि यसअघिका नियम भने यथावत राखेको विभागले जनाएको छ । ‘सेप्टेम्बर २४ र डिसेम्बर २ मा प्रकाशित ट्राभल एडभाइजरीसँग सम्बन्धित अन्य सूचना भने यथावत रहेको समेत सूचनामा उल्लेख छ । यसअघिको प्रावधानमा खोप लगाएका र पिसिआर नेगेटिभ आएका यात्रुले क्वारेन्टिन बस्नु पर्दैन ।
