अध्यादेशबारे छलफल गर्न कांग्रेसद्धारा आकस्मिक पदाधिकारी बैठक आह्वान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले आज ल्याएको संवैधानिक परिषद् सम्बन्धि अध्यादेशबारे छलफल र आधिकारिक धारणा सार्वजनिक गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आकस्मिक पदाधिकारी बैठक डाकेको छ ।

कांग्रेस स्रोतका अनुसार नेपाली काँग्रेसले पूर्व तथा वर्तमान पदाधिकारीको आकस्मिक बैठक बोलाएको हो । अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीबाट मंगलबार जारी भएको हो । बैठक बुधबार दिउँसो १ बजे पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बस्ने भएको छ ।

कांग्रेसले अध्यादेशबाट सरकार चलाउन खोज्ने प्रवृत्तिलाई सर्वसत्तावादी र अधिनायकवादी कदम भनी आलोचना गरिरहेको छ । अध्यादेश फिर्ता हुनुपर्ने अडानमा कांग्रेसका नेताहरु रहेका छन् । कांग्रेस पदाधिकारी बैठकले पछिल्लो अध्यादेशबारे संस्थागत निर्णय लिने भएको छ ।

संसद छलेर प्रधानमन्त्रीले आफुखुसी निर्णय गराइरहेको भन्दै कांग्रेस नेताहरुसमेत आक्रोसित बनेका छन् । अध्यादेशपछि आह्वान भएको संवैधानिक परिषद्को आज साँझको बैठक समेत सभापति शेरबहादुर देउवाले बहिष्कार गरेका छन् ।