अनअराइभल भिसा लिने पर्यटकले नगद डलर बोक्नु पर्ने नियम हटाइयो

काठमाडौं । सरकारको चर्को आलोचना भएपछि अनअराइभल भिसामा नेपाल आउने पर्यटकले नगद डलर बोक्नु पर्ने नियम हटेको छद्ध । गृह मन्त्रालय मातहतको अध्यागमन विभागले मंगलबार सूचना प्रकाशित गरी यस्तो जानकारी गराएको हो । विभागकाअनुसार विदेशी नागरिकले तिर्नुपर्ने भिसा शुल्कको भुक्तानी गर्न नगद नै बोक्नु पर्ने डलर अब विद्युतीय माध्यमबाट समेत तिर्ने व्यवस्था यथावत रहने भएको छ ।

सोमबार विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईको संयोजकत्वमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले त्रिभुवन विमानस्थल क्षेत्रमा अहिले सेवा दिइरहेको राष्ट्रिय वाणिज्य बैंकले अहिले सञ्चालनमा रहेको पीओएस मेसिन थप गर्ने, पेमेन्ट गेटवेलाई पूर्णरुपमा सञ्चालनमा ल्याउने र आगमन कक्षतर्फ एक र प्रस्थान कक्षमा एक वटा एटीएम मेसिन थप गर्ने निर्णय समेत भएको छ ।

भिसा शुल्क सम्बन्धमा पर्यटकलाई असुविधा परे नपरेको विषयमा अध्यागमन कार्यालय, नेपाल नागरिक उड्डययन प्राधिकरण र राष्ट्रिय वाणिज्य बैंकले नियमित अनुगमन गर्ने निर्णय समेत बैठकले गरेको छ ।