काठमाडौं । अनुत्पादक क्षेत्र भनिए पनि बैंक तथा वित्तीय संस्थाहरूको घरजग्गामा कर्जा लगानी वर्षेनी बढ्दै गएको छ ।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार पछिल्लो ५ वर्षमा घरजग्गामा कर्जा लगानी ६९.३७ प्रतिशतले बढेको छ ।
यद्यपि, राष्ट्र बैंकको कडाइका कारण पछिल्लो १ वर्ष यता भने घरजग्गामा कर्जा लगानी केही सुस्त देखिएको छ ।
बैंक तथा वित्तीय संस्थाहरूले ५ वर्षमा २ खर्ब ३७ अर्ब रुपैयाँले व्यक्तिगत घरजग्गामा कर्जा प्रवाह गरेका छन् ।
आर्थिक वर्ष २०७४/ ७५ सम्म बैंकहरुले घरजग्गामा ३ खर्ब ४३ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए । ५ वर्षको अवधिमा बैंकहरुको घरजग्गाका कर्जा लगानी औसतमा वार्षिक औसतमा ११ प्रतिशतले वृद्धि हुँदै गएको छ ।
संस्थाहरूले चालु वर्षको तीन महिनामा १५ अर्ब रुपैयाँ व्यक्तिगत आवास कर्जा र रियलस्टेट सेक्टरमा लगानी गरेका छन् । गत वर्ष मात्र १५ प्रतिशतले ऋण लगानी बढाएको तथ्यांकले देखाउँछ ।