काठमाडौं । ट्विटर खरिद प्रक्रिया सम्पन्न भएको छ । संसारका सबैभन्दा धनी व्यक्ति इलन मस्कले ट्विटर किनेका हुन् । यससङ्गै उनले “पन्छी मुक्त”भएको लेखेका छन् । ट्विटर खरिद प्रक्रिया सकिएसँगै शुक्रबार एक ट्विट गर्दै उनले लेखेका छन्, ‘दि बर्ड इज फ्रिड’ ।
गत अप्रिलमा ट्विटर किन्ने सम्झौता गरेका मस्कले बिहीबार मात्रै खरिद प्रक्रिया पूरा गरेका छन् । उनले ट्विटर किनेसँगै ट्विटरका सीईओ पराग अग्रवालसहित तीन उच्च पदाधिकारीलाई बर्खास्त गरे । अग्रवाल २०२१ नोभेम्बरमा ट्विटरको सीईओमा नियुक्त भएका हुन् ।
बिहीबार एक ट्विट गर्दै मस्कले मानवताको सहयोगका लागि ट्विटर खरिद गरेको भन्दै मानव सभ्यताको भविष्यका लागि ट्विटरजस्तो प्लेटफर्म आवश्यक भएको बताएका थिए ।
गत अप्रिलमा ट्विटर किन्ने सुरुवाती सम्झौता गरेका मस्क पछि उक्त सम्झौताबाट बाहिरिन खोजेका थिए । ट्विटर किन्ने सम्झौता गरे पनि पछि आनाकानी देखाएपछि ट्विटरले उनीविरुद्ध अदालतमा मुद्दा दर्ता गराएको थियो । मस्कले ट्विटर किन्नका लागि अदालतबाट अक्टोबरसम्मको समयसीमा पाएका थिए ।
मस्कले वाक् स्वतन्त्रताको पक्षमा आफू रहेको भन्दै ट्विटरको कन्टेन्ट मोडेरेसन नीतिबारे पुनर्विचार गर्ने बताउँदै आएका छन् ।
उनले ५४.२० डलर प्रतिसेयर मूल्यमा कुल ४४ बिलियन डलर (अहिलको विनिमय दरअनुसार ५३ खर्ब ६८ अर्ब) तिरेर ट्विटर किनेका हुन् ।