अन्तत: ‘अल्टिमेटम’बाट पछि हट्यो कामनपा, जग्गा खाली गर्न आवश्यक समय दिन तयार

तस्विर: १२ खरीवाट

काठमाडौं । काठमाडौं महानगरपालि र नर्भिक इन्टरनेसनल अस्पतालबीच टहरा तत्काल नभत्काउने सहमति भएको छ ।

अस्पतालले नियमविपरीत बनाएका टहरा आजै भत्काउने तयारीबीच दुई पक्षबीच मौखिक सहमति भएको हो ।

जग्गा मिचेर संरचना बनाएको बारेमा अध्ययन गर्न काठमाडौं महानगरपालिका र अस्पतालले प्राविधिक राखेर अध्ययन समिति बनाउने छन् ।

नर्भिकलाई सार्वजनिक जग्गाको संचरना हटाउन २४ घण्टे अल्टिमेटम दिएका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ९बालेन० मंगलबार निर्देशन पालन भए नभएको हेर्न नर्भिक अस्पतालमा पुगेका थिए ।

इन्जिनियरहरूले त्यहाँ भएका सामग्री अन्यत्र जडान गर्न र सार्न लाग्ने समयबारे प्रतिवेदन बुझाउने र सोही आधारमा अर्को कदम चालिने सहमति भएको छ ।

अस्पतालले सरकारको नाममा रहेको कित्ता नम्बर २०८५ क्षेत्रफल १–८–१–८ जग्गा लिजमा लिई सरकारसँगको सम्झौताविपरीत र नक्सापास स्वीकृत नगरी टहरा बनाएको महानगरले जनाएको छ ।

तर, अस्पतालले अत्यावश्यक बिरामीको उपचारका लागि चाहिने संवेदनशील सामग्री राखिएको भन्दै २४ घण्टामै टहरा भत्काउन नसकिने जनाएको थियो ।

नर्भिक हस्पिटलका अध्यक्ष राजेन्द्रबहादुर सिंहले मंगलबार पत्रकार सम्मेलन गरेर आफूहरुले सरकारसँग आफू २० वर्षका लागि भाडामा लिएको भन्दै उक्त जग्गा खाली नगर्ने जवाफ दिएका थिए ।

२०६५ सालमा नेपाल सरकारको तर्फबाट भूमिसुधार कार्यालय काठमाडौंका भूमिसुधार अधिकारी लुम्बप्रसाद शिवाकोटीसँग २० वर्षका लागि उक्त जग्गा भाडामा लिएको भन्दै उनले सम्झौतापत्रसमेत सार्वजनिक गरेका थिए ।