अमृता के सी (रोनी)
काठमाडौँ, भाद्र ६।अन्तराष्ट्रिय युवा दिवसको अवसरमा नेपाल युनेस्काे संघसंस्था तथा क्लबहरुको राष्ट्रिय महासंघको आयोजनामा गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित राष्ट्रिय शहिद तथा शान्ति पार्क निजामति (स्मारक) यज्ञडाेल (जगडाेल) सामुदायिक वनमा वृक्षारोपण गोडमेल तथा पुनरोंपण गरिएको छ। वातावरण समितिले संयोजन गरेको कार्यक्रममा गोकर्णेश्वर नगर प्रमुख सन्तोष चालिसेको प्रमुख आतिथ्यता सम्पन्न भएको हो।

कार्यक्रममा सामुदायिक वनमा पहिले रोपेका वृक्षहरुको गोडमेल गरि फल दिने साथै सौन्दर्य जातका बोट बिरुवा रोपण गरिएको थियो।कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख चालिसेले समृद्धिका लागि पर्यापर्यटन माध्यमबाट सामुदायिक वनमा वृक्षहरुको गोडमेल, हेरविचार गरी खाली ठाउँमा वृक्षरोपण गरि संरक्षण गरे आगामी दिनमा राम्रो हुने बताए।साथै उनले युवाहरुमा नयाँ जोस, जागर र उत्साह भएको हुँदा युवा शक्तिलाई सहि मार्गदर्शन गरि समृद्ध नेपाल बनाउन सबैले हालेमालो गर्नुपर्ने बताए।

नेपाल युनेस्काे संघसंस्था तथा क्लबहरुको राष्ट्रिय महासंघका अध्यक्ष आनन्द राज त्रिपाटीको सभापतित्वमा शुक्रबार सम्पन्न कार्यक्रममा राष्ट्रिय शहिद तथा शान्ति पार्क निजामति (स्मारक) यज्ञडाेल (जगडाेल) सामुदायिक वनका अध्यक्ष सुदर्शन सिग्देल, दिपक सरकार, केदारनाथ दाहाल लगायत सामुदायिक वनका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
