अन्तरिक्षमा रुस र चीनको गतिविधि निगरानी गर्ने अमेरिकाको योजना

GORODENKOFF/SHUTTERSTOCK.COM

लण्डन । अमेरिकाले अन्तरिक्षमा अन्य मुलुकले गरिरहेका गतिविधिको निगरानी बढाउने भएको छ । बीबीसीका अनुसार अमेरिकाले अन्तरिक्षका वस्तुहरूको निगरानी गर्न बेलायतमा एक ठूलो राडार प्रणाली राख्ने योजना बनाएको छ । अमेरिकाको अन्तरिक्षसम्बन्धी बलले विकास गरिरहेको एउटा विश्वव्यापी प्रणालीले ३६,००० किलोमिटर परसम्मका सम्भावित निशानालाइ पहिचान गर्न सक्ने क्षमताको भएको समाचारमा उल्लेख छ ।

अमेरिकाले यस्तो प्रणाली टेक्सास र अस्ट्रेलियामा समेत राख्ने योजना बनाएको बीबीसीले जनाएको छ । अमेरिकी रक्षा मन्त्रालयले नयाँ रडारको क्षमताले अन्तरिक्षलाई अझ बढी सुरक्षित गराउने बताएको छ । यद्दपी यो योजनालाई भने रुस र चिनियाँ गतिविधिको निगरानी गर्नु रहेको अनुमान गरिएको छ । अन्तरिक्षमा भूउपग्रहहरू धेरै हुँदा भिडभाड बढेको साथै शस्त्रको प्रतिस्पर्धा बढिरहेको वैज्ञानिकहरुले दावि गर्छन् ।

अमेरिका र बेलायत दुबै मुलुक रुस र चीनसँग सशंकित छन् । उनीहरुले भूउपग्रहलाई यी दुई मुलुकले हानि पुर्‍याउन सक्ने हतियार विकास गरिरहेको आरोप समेत लगाएका छन्। गतवर्ष मात्र १,००० भन्दा धेरै नयाँ भूउपग्रह अन्तरिक्षमा पठाइएको थियो ।