न्युयोर्क
इन्टरनेशनल पावरलिफ्टिङ लिगमा स्वर्ण पदक हासिल गर्ने नेपाली शक्तित्तोलक रुप कार्कीको हृदयघातको कारण ५१ वर्षको उमेरमा भरतपुर अस्पताल चितवनमा निधन भएको छ । नेपालको बुटवलस्थित आफ्नै निवासमा बिहिबार साँझ डिनर खाँदैगर्दा स्वास्थ्यमा असहजता देखिए पश्चात तत्काल नजिकको अस्पताल लगिएको थियो । चिकित्सकले काठमाडौं लैजान भनेपछि एम्बुलेन्समा राजधानी लगिएको हो ।
काठमाडौं लैजादै गर्दा बाटोमा नै थप अवस्था बिग्रिएकोले नजिक पर्ने भरतपुर अस्पताल पुर्याइए पनि चिकित्सकले तुरुन्तै मृत घोषित गरेको पारिवारिक श्रोतले जनाएको छ। लामो समयदेखि अमेरिकाको भर्जिनियामा बस्दै आएका कार्की ५ महिनाअघि नपालमै केही गर्नुपर्छ भनि देश गएका थिए । केही महिना पहिले कोरोनाभाइरस पोजेटिभ देखिएतापनि हाल भाइरसबाट मुक्ति पाइसकेको थियो ।
नेपालदेखि युरोप हुँदै अमेरिकासम्म पनि उहाँले पटकपटक बिभिन्न स्पर्धामा पदक हात पारिसकेका थिए । समाजसेवामा पनि सकृय कार्कीले असहायहरुलाई आर्थिक सहयोग समेत गर्ने गर्दथे ।
अमेरिकाको भर्जिनियास्थित अस्पतालमा उहाँको आफ्नै बुहारी प्रसव व्यथा शुरु भई भर्ना हुने समय र नेपालमा आफैलाई गाह्रो भै “मलाई अस्पताल लैजाऊ” भनेको समय एकै पर्नु नियतिको उत्कर्ष मान्न सकिन्छ ।