अन्तर्राष्ट्रिय महिला शिखर सम्मेलन काठमाडौंमा हुने

काठमाडौं । नेपाल उद्योग परिसंघको आयोजनामा आगामी साता महिला शिखर सम्मेलन आयोजना हुने भएको छ । सम्मेलन आगामी ११ र १२ चैतमा आयोजना हुने परिसंघले जनाएको छ । महिला नेतृत्व शिखर सम्मेलनको तयारी पुरा भएको परिसंघको भनाइ छ । परिसंघ महिला नेतृत्व मञ्चको संयोजनमा काठमाडौंमा हुन लागेको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनको तयारी पुरा भएको सोमबार आयोजित कार्यक्रममा जानकारी दिइयो ।

कोभिड-१९ महामारीपछि महिला नेतृत्वका तीनवटा प्रमुख क्षेत्रमा केन्द्रित रहेर सम्मेलन आयोजना गर्न लागिएको बताइएको छ । कोभिड(१९ का कारण महिलामा परेको असर, त्यसका विषयमा छलफल र समाधान खोज्ने उद्देश्य सम्मेलनको रहेको परिसंघका उपाध्यक्ष निर्वाण चौधरीले बताए ।

सम्मेलनमा लैङ्गिक समानताका विषयसहित महिला नेतृत्वहरुबीच विचार आदानप्रदान गर्ने, साझा रणनीति बनाउने, महिलाहरुका सफलता सुनाउने, महिलाहरुलाई प्रोत्साहित गर्ने र एकअर्काबाट सिक्ने अवसर प्राप्त हुने उनले बताए । नेतृत्वमा महिला, अर्थतन्त्रमा महिलाको योगदान, र परिवर्तनका संवाहक महिला विषयमा छुट्टाछुट्टै सत्रमा छलफल हुने परिसंघ महिला उद्यमी मञ्च सभापति छायाँ शर्माले बताइन् ।

उनले विभिन्न सत्रमा नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, भुटान, माल्दिस, जर्मनीलगायत मुलुकका राजनीति, आर्थिक, सामाजिक, वातावरणलगायतका क्षेत्रमा स्थापित, रुपान्तरणकारी एवं प्रभावशाली व्यक्तित्वहरको सहभागिता सुनिश्चित भइसकेको जानकारी दिइन् ।

सम्मेलनमा सामाजिक र सूचना प्रविधि क्षेत्रमा उच्च योगदान पुर्‍याउने दुई जना महिलालाई सम्मान गरिनेछ । साथै, उद्यमशीलता प्रवर्द्धनका लागि महिला उद्यमीहरुबाट उत्पादित स्वदेशी वस्तुहरुको प्रदर्शनी समेत गरिने भएको छ । दुई दिने महिला नेतृत्व शिखर सम्मेलनको निष्कर्ष एवं सुझाव नेपाल सरकारलाई हस्तान्तरण गरिने परिसंघको भनाइ छ ।