अफगानिस्तानबाट सेना फिर्ता गरेर के अमेरिकाले ठूलो गल्ती गर्यो ?

वासिंटन डिसी । अफगानिस्तानमा तालिबानले शहरहरु कब्जा जमाएको छ । सरकारी सेनासँगको लडाईमा तालिवानले एकपछि अर्को विजयी हाँसिल गरिरहेको छ । यसो हुनुमा त्यहाँबाट अमेरिकी नेतृत्वको विदेशी फौज फिर्ता हुनु मूख्य कारण हो । अहिले जारी युद्धमा हजारौं मानिसले थप ज्यान गुमाइरहेका छन् । यस्तो समयमा सोधिएको एक प्रश्नमा अमेरिकी राष्ट्रपति जो बाइडनले भने अफगानिस्तानबाट अमेरिकी फौज फिर्ता गर्ने आफ्नो निर्णयमा कुनै पछुतो नभएको बताएका छन्।

बीबीसीका अनुसार उनले सो मुलुकका लागि लड्न अफगान नेताहरूलाई एक हुन समेत सुझाव दिएका छन् । सो मुलुकबाट २० वर्षपछि अमेरिकी नेतृत्वको विदेशी फौजले देश छाडेको छ । यसको फाइदा उठाउँदै तालिवानले हिंसा बढाएको छ । तालिबानले देशका ३४ वटा प्रान्तीय राजधानीमध्ये कम्तीमा ८ वटालाई नियन्त्रणमा लिइसकेको समाचारमा उल्लेख छ । अन्य सहरहरूलाई पनि नियन्त्रणमा लिने कोसिसका साथ उसले लडाइँ जारी राखेको छ।

मङ्गलवार ह्वाइट हाउसमा संवाददाताहरूसँग बोल्दै बाइडनले अमेरिकाले अफगानिस्तानसँग गरेका प्रतिबद्धता पूरा गरिरहेको बताएका हुन् । बाइडनले हवाई सैनिक सहायता, सैनिकहरूलाई तलब र अफगान फौजलाई खाद्यान्न र बन्दोबस्तीका सामानहरू अमेरिकाले प्रदान गरिरहेको बताए। संयुक्त राष्ट्रसङ्घका अनुसार गएको एक महिनाभित्र अफगानिस्तानमा तालिबान र सरकारी फौजबीच भएको लडाइँमा १,००० भन्दा बढी सर्वसाधारण मारिएका छन्।