अफगानिस्तानमा उद्धार उडानका लागि अब गैरसैनिक जहाज पनि खटिने

Reuters

काबुल । संयुक्त राज्य अमेरिकाले अफगानिस्तानबाट मानिसहरूको उद्धार गर्न अब गैरसैनिक वायुसेवाका विमान समेत प्रयोग गर्न सक्ने गरि अनुमति दिएको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले १८ वटा विमानले अफगानिस्तान बाहिरका सुरक्षित स्थानबाट मानिसहरूलाई तेस्रो देशमा पुर्‍याउने उल्लेख गरेको बीबीसीले लेखेको छ । अगस्ट १५ मा तालिबानले सत्ता कब्जा गरेपछि हजारौँ अफगानहरू देशबाट भागेर सुरक्षित ठाउँमा जान काबुल विमानस्थलमा जम्मा भएका छन्।

आइतबार राष्ट्रपति बाइडनले अमेरिकाले अघिल्लो हप्ता झन्डै २८ हजार जनाको उद्धार गरिएको जानकारी गराएका थिए । काबुल विमानस्थल बाहिर हजारौँ लामबद्ध भइरहँदा कम्तीमा २० जना मानिस मारिएको समेत रोएटर्सले लेखेको छ । अघिल्लो हप्ता अमेरिकाले २८ हजार जनाको उद्धार गरेको बताइएको छ । बेलायती सशस्त्र बल सम्बन्धी मन्त्री जेम्स हिपीले तालिबानहरूले हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा मानिसहरूलाई व्यवस्थित गरिदिइरहेको र त्यसले देश छाड्ने अपेक्षा गरिरहेकालाई सहज भइरहेको बताएका छन् ।

बेलायतले अगस्ट १३ यता ५ हजार ७ सय २५ जनाको उद्धार गरिसकेको छ । काबुलमा बेलायतका १ हजारभन्दा बढी सुरक्षाकर्मी खटिएका छन् । आइतबार अमेरिकाको रक्षा मन्त्रालयले सीआरएएफ भनिने सिभिल रिजर्भ एअरफ्लिट नियमलाई उद्धारका निम्ति क्रियाशील गराउने घोषणा गरेको हो । यसले सङ्कटको समयमा अमेरिकालाई गैरसैनिक विमानहरू उद्धारमा खटाउन सघाउँछ।

सन् २००३ मा इराकमा आक्रमण गर्दा र सन् १९९० देखि १९९१ सम्मको खाडी युद्धमा पनि गैरसैनिक विमान खटाइएका थिए। अहिले खटाइने १८ वटा विमानमध्ये चारवटा युनाइटेड एअरलाईन्सका छन्। अमेरिकी एअरलाईन्स, एट्लस एअरलाइन्स, डेल्टा एअरलाईन्स र ‌ओम्नी एअरका तीन, तीनवटा र दुईवटा हवाइयन एअरलाईन्सका जहाज छन् ।