काठमाडौं । अमेरिकी सैनिकले अफगानिस्तान छाडेसँगै उक्त मुलुकमा अतिवादी समूहहरुको सक्रियता बढेको छ । तालिवानले देशका महत्वपूर्ण भूभागहरु कब्जा गरेको भनेको छ । उता, राष्ट्रपति जो बाइडेन भने आफ्नो प्रशासनको यो कामप्रति सन्तुष्ट छन् । बीबीसीका अनुसार उनले अगस्ट ३१ तारिखमा अफगानिस्तानमा अमेरिकी कारबाही अन्त्य हुने बताउँदै सेना फिर्ता लिने आफ्नो निर्णयको बचाउ गरेका हुन् । युद्धको निरीक्षण गर्ने चौथो अमेरिकी राष्ट्रपति बाइडनले जीवन जोगाएको भन्दै अफगानिस्तानबाट सेना फर्किरहेको गतिको समेत बचाउ गरेका छन्। सो मुलुकमा तालिबान लडाकु समूहले देशैभर आफ्नो उपस्थिति बढाइरहेका छन् ।
सन् २००१ को सेप्टेम्बर ११ तारिखमा अमेरिकामा भएको आतङ्कवादी हमला पश्चात् अमेरिकी सेनाले झन्डै २० वर्ष अफगानिस्तानमा युद्ध गरेको छ । यसै वर्षको सुरुवाततिर, सन् २०२१ को सेप्टेम्बर ११ भित्रमा अमेरिकी सेना त्यहाँबाट पूर्ण रूपमा फर्किसक्ने घोषणा बाइडेनले गरेका थिए । अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०२१ को मे महिनाभित्र अमेरिकी सेना अफगानिस्तानबाट फर्किसक्ने गरि तालिबानसँग सहमति गरेका थिए । यसलाई बाइडेनले समेत निरन्तरता दिए । अमेरिकी सेना पूर्ण रूपमा फर्किए पनि ६५० देखि १,००० अधिकारी भने अमेरिकी दूतावास, काबुल विमानस्थल र अन्य सरकारी पूर्वाधारहरूको रक्षामा अफगानिस्तानमै खटिने छन् ।