काबुल । अफगानिस्तानमा तालिबानले नाऊहरूले दाह्री काट्ने वा मिलाउने काम इस्लामिक कानून विपरित रहेको भन्दै त्यस्तो कार्य नगर्न उर्दी जारी गरेको छ । बीबीसीका अनुसार अफगानिस्तानको हेलमन्ड प्रान्तमा त्यस्तो कार्य गर्न प्रतिबन्ध लागेको हो । उक्त नियम तोड्ने जोकोहीलाई सजाय दिइने समेत बताइएको छ । राजधानी काबुलका केही नाऊहरूले आफूहरूलाई पनि त्यस्तै निर्देशन आएको जानकारी गराएका छन् । उक्त निर्देशनले विगतमा जस्तै उक्त समूहको कडा शासन फर्किएको सङ्केत गरेको समेत समाचारमा उल्लेख छ । तालिबानले विगतमा जस्तो कडा व्यवहार नगर्ने बताउँदै आएको थियो।
गत महिना सत्ता आफ्नो हातमा लिएयता तालिबानले विपक्षीविरुद्ध कडा कारबाही गर्दै आएको छ। शनिवार तालिबानका लडाकुहरूले चारजना सन्दिग्ध अपहरणकारीहरूलाई गोली हानेर मारिदिएका थिए र उनीहरूले शरीर हेरात राज्यको सडकमा झुन्ड्याइएको थियो। दक्षिणी हेलमन्डका सैलुनहरूमा टाँसिएका सूचनामा तालिबान अधिकारीहरूले नाऊहरूले कपाल र दाह्री काट्दा शरिया कानुन मान्नुपर्ने उल्लेख रहेको बीबीसीले लेखेको छ ।