काबुल । तालिबानले अफगानिस्तानको राजधानी काबुलमा रहेको राष्ट्रपति कार्यालय कब्जा गरेको छ । अमेरिकी सेना फर्कन शुरु गरेको ४५ औं दिनमै तालिबानले मुलुकमा विजयी हाँसिल गरेको हो । आइतबार राष्ट्रपति अशरफ गनीले देश छाडेर भागेपछि तालिबान राष्ट्रपति कार्यालय छिरेको हो । करीव ६ हजार सैनिकले नियमित पहरा दिने राष्ट्रपति भवनलाई उनीहरुले अब कब्जा जमाएका छन् ।
अफगानिस्तानको अधिकांश भाग नियन्त्रणमा लिएर काबुललाई घेरेको तालिबानले जनधनको क्षति नगर्न शान्तिपूर्ण शक्ति हस्तान्तरणको आशामा सहर प्रवेश नगरी काबुलको प्रवेशद्वारमा रहेको जानकारी गराएको थियो । तर सहरमा लुटपाट हुन नदिन तालिबान लडाकुलाई सहर पस्न अनुमति दिइएको तालिबानका एक प्रवक्ताले बताएको बीबीसीले लेखेको छ । ती प्रवक्ताले अफगानिस्तान र काबुलका बासिन्दाहरू डराउनु नपर्ने र तालिबानले बदला नलिने बताएका छन्।
तालिबानसँग वार्ता गरिरहेका समूहले राष्ट्रपति कार्यालयमै शक्ति हस्तान्तरण हुने कुरो बताए पनि राष्ट्रपति गनीले आफ्ना सहयोगीहरू सहित देश छोडेका हुन्। उता, काबुललाई तालिबानले घेरेपछि अमेरिकाले आफ्नो दूतावास भवन छोड्दै काबुल अन्तर्राष्ट्रिय विमानस्थलको परिसरमा स्थानान्तरण गरेको छ। हेलिकप्टरबाट दूतावासका सबै कर्मचारी र झन्डालाई विमानस्थल परिसरमा सारिएको हो ।
आफ्ना नागरिकको सुरक्षा गर्न विमानस्थल परिसरमा ४,००० अमेरिकी सैनिक परिचालन गरिएको समाचारमा उल्लेख छ । अमेरिकी सञ्चारमाध्यमका अनुसार अफगानिस्तानमा १,४०० अमेरिकी कर्मचारी थिए। तीमध्ये सानो समूह मात्रै केही समयका लागि काबुलमा रहने र बाँकीलाई त्यहाँबाट निकालिनेछ ।