अफ्ठयारो मौका छोपेर अस्थिरता ल्याउन खोजियो : प्रधानमन्‍त्री

काठमाडौं । प्रधानमन्‍त्री केपी शर्मा ओलीले अफ्ठ्यारो अवस्थाको मौका छोपेर मुलुकमा अस्थरता निम्त्याउन खोजिएको आरोप लगाएका छन् ।

शुक्रबार मजदुर दिवसका उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै प्रधनमन्त्रीले अप्ठ्यारो परिस्थितिलाई मौका छोपेर अस्थितरताका प्रयास भएको बताएका छन् ।

यस्तो कमद दुःखद् भएको भन्दै आफ्ना ससाना स्वार्थ वा कुनै गलत उद्देश्यका साथ कसैले यस परिस्थितिलाई बिथोल्न र बिगार्न खोज्छ भने सरकार, नेकपाका कार्यकर्ता र आम नेपाली जनतालाई यो किमार्थ स्वीकार्य नहुने उनको भनाई छ ।

त्यस्ता प्रयासलाई सफल हुन दिइने छैन भन्दै उनले आश्वस्त पार्न खोजेका छन् । प्रधानमन्त्रीले श्रमजीवी वर्ग दुःख गरेर सुखको सपना देख्ने वर्ग भएको समेत उल्लेख गरेका छन् ।

श्रमजीवी वर्ग परिवर्तनको संबाहक भएको समेत उनको भनाई छ । सबै आत्तिएको बेला ढाडस दिन सक्ने, अनि आफैं अघि सरेर समस्याको सामना गर्न सक्ने वर्ग समेत श्रमजीवी वर्ग भएको उनले सन्देशमा उल्लेख गरेका छन् ।

कोरोना भाइरसका कारण उद्योग–व्यवसाय बन्द हुँदा आम्दानी घटेका स्वदेशमा कार्यरत सबै प्रकृतिका श्रमिकहरुका कष्टकर जीवनप्रति दुःखी भएको उनको भनाई छ ।

एक दशकको हिंसात्मक द्वन्द्वका कारण गाउँको रोजगारी खोसिँदा शहर र बजार पसेका, तर शहर र बजारले रोजगारी दिन नसक्दा परदेश भासिएका लाखौं नेपाली युवा श्रमिक विभिन्न मुलुकमा कार्यरत रहेको उनले स्मरण गरेका छन् ।

युवाहरु विदेशिने यी र अन्य विभिन्न बाध्यकारी परिस्थिति तथा प्रवृत्ति भएको भन्दै कोरोना भाइरसको महामारीका कारण सबैको रोजगारीमा समस्या आएको बताएका छन् ।

न कार्यरत मुलुकमा रम्न सकिने, न त स्वदेश फर्किन सकिने’ चेपुवामा श्रमिक छन् । यसबाट सिर्जना भएको पीडाप्रति आफु जानकार तथा संवेदनशील रहेको उनले बताएका छन् ।