अब काठमाडौंका सबै वडामा डाक्टर र नर्स खटिने

Photo : Gorakhapatra

काठमाडौं । काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा अब डाक्टर र नर्ससहितको सेवा उपलब्ध हुने भएको छ । आइतबार बसेको आठौं कार्यपालिका वैठकले ३२ वटै वडामा एक एक जना इन्जिनियर, एमडीजीपी र नर्स करारमा राख्ने निर्णय गरेको छ । हरेक वडामा वडा क्लिनिक सञ्चालन गर्ने र त्यहाँ रोगको पहिचान गर्न सक्ने जनरल प्राक्टिसमा एमडी गरेका डाक्टर राख्ने निर्णय महानगरपालिकाले गरेको हो । वडा क्लिनिकमा चिकित्सकलाई सहयोग गर्न एक जना नर्स रहने छन् ।

जनरल फिजिसियन डाक्टर राखेमा स्वास्थ्यसम्बन्धी सरसल्लाह दिन र कुनै समस्याको तत्काल उपचार गर्न सक्ने मेयर बालेन साहले जानकारी दिए । हरेक वडामा हुने विकास निर्माणको अनुगमनका लागि इन्जिनियर पनि करारमा राख्ने भएको छ । यस वर्ष वडामा बजेट वृद्धि गरिएको र त्यहाँ हुने विकास निर्माणको काम अनुगमन गर्न इन्जिनियर चाहिने मेयर बालेनले बताए । फुटपाथ व्यवस्थापनमा खटिएका नगर प्रहरीलाई दैनिक ५ सय रुपैयाँ भत्ता दिने पनि महानगरको कार्यपालिका बैठकले निर्णय गरेको छ ।