काठमाडौं । महानगरपालिका, प्रदेश सरकार र साझा यातायातको संयुक्त लगानीमा काठमाडौं उपत्यकासहितका शहरी क्षेत्रमा विद्युतीय सार्वजनिक बस चल्ने भएको छ ।
यी तीन निकायबीच पहिलो चरणमा ३० वटा विद्युतीय बस खरीद गरी चलाउने सम्झौता भएको छ । यी बसको मूल्य ४५ करोड हुनेछ । यस अभियानमा प्रदेश ३ सरकार समेत जोडिएको छ ।
अब त्रिपक्षीय लगानीमा साझा यातायातको ब्राण्डमा विद्युतीय बस गुड्ने पक्का भएको हो । सोमबार प्रदेश ३ सरकार, काठमाडौं र ललितपुर महानगर र साझा यातायातबीच विद्युतीय बस चलाउने सम्बन्धमा सम्झौता भयो ।
प्रदेश ३ सरकारको ३० करोड लगानी
काठमाडौं उपत्यकामा विद्युतीय बस संचालनलाई प्रदेश ३ सरकारले प्राथमिकता दिएको छ । उसले यक्लै ३० करोड रुपैयाँ लगानी गर्ने भएको छ ।
काठमाडौं र ललितपुर महानगरपालिकाले क्रमशः १० करोड र २ करोड ५० लाख लगानी गर्ने भएका छन् । साझाले २ करोड ५० लाख रुपैयाँ लगानी गर्ने गरी सम्झौता भएको हो ।
सम्झौता भएसँगै अब बस खरीदको प्रक्रिया थाल्ने साझा यातायातको तयारी छ । विद्युतीय बस काठमाडौं उपत्यकासहित प्रदेश तीनका मूख्य शहरसम्म चलाउने गरी सहमति भएको छ । यद्दपी रुट निर्धारण भने बाँकि रहेको छ ।