काठमाडौं । शुक्रबारबाट काठमाडौं महानगरपालिका भित्रका विभिन्न स्थानबाट होर्डिङ बोर्ड हटाउन थालिएको छ ।
महानगरले नगर प्रहरीको सहयोगमा शुक्रबारबाटै यसको थालनी गरेको हो । यसअघि बिहीबार गृहमन्त्री रामबहादुर थापा बादलले काठमाडौंका सबै होर्डिङ बोर्ड हटाउन निर्देशन दिएका थिए ।
उनको निर्देशन लगत्तै महानगरपालिका र प्रहरीको संयुक्त टोलीले शुक्रबारबाट धमाधम होर्डिङ बोर्ड हटाउन शुरु गरेको हो ।
शुक्रबार माइतीघर, विजुलीबजार, नयाँ बानेश्वर, तीनकुने, सोह्रखुट्टेसहित दर्जनौ स्थानमा टोली खटिएर होर्डिङ बोर्ड हटाइएको छ ।
सर्वोच्च अदालतले २०७२ सालमै दिएको आदेश ४ वर्षपछि मात्र कार्यान्वयन हुन शुरु भएको छ ।
राजधानीमा महानगरले नै कतिपय स्थानमा होर्डिङ बोर्ड अनुमति दिएका कारण हटाउन आनाकानी गरेको थियो ।
तर, गृहमन्त्रीको आदेश र महानगरविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा दायर भएपछि महानगर नै यसमा सक्रिय भएको हो ।
विजुलीका पोलमा समेत विज्ञापनका बोर्ड राख्न नेपाल विद्यूत प्राधिकरणले अनुमति दिएको थियो ।
शुक्रबार पोष्टर–पम्प्लेट टास्दै हिँडेका १० जनालाई पक्राउ परेका छन् ।
महानगरले पर्चा–पम्प्लेट टाँसेको भन्दै भ्याली इष्टिच्युट चावहिललाई १० हजार र काठमाडौं जब इम्प्लोइमेण्टलाई ५ हजार जरिमाना समेत तिराएको छ । यस्ता पम्प्लेटका कारण समेत शहर कुरुप बन्दै गएको छ ।
सरकारले भ्रमण वर्ष अगाडी नै काठमाडौंलाई कुरुप बनाइरहेका होर्डिङ बोर्ड हटाउने रणनीति लिएको हो ।