अब जोखिम नभएका सबै मुलुकमा उडान अनुमति खुला

काठमाडौं । सरकारले अब विदेशमा जोखिम विश्लेषण गरेर सबै मुलुकमा उडान अनुमति खुला गर्ने निर्णय गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को मंगलबार बसेको बैठकले जोखिम विश्लेषण गरी माग भएअनुसारका मुलुकमा उडान खोल्न पर्यटन मन्त्रालयलाई अनुमति दिएको छ । अहिले खाडी मुलुक र जापानमा उडान सूचारु भएको छ ।

दक्षिण एसियाली मुलुकमा भने उडान खुला हुन सकेको छैन । यसले खासगरी भारततर्फ ठूलो आम्दानी गुमिरहेको छ । बैठकले काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम उच्च रहेको निष्कर्ष समेत निकालेको छ ।

यसका वावजुत तत्काल लकडाउनमै भने नजाने केन्द्रको भनाई छ । उक्त बैठकले अब काठमाडौंमा परीक्षणको दायरा बढाउने निर्णय समेत गरेको छ । दसैंतिहार लगायतका चाडपर्वका कारण काठमाडौंमा परीक्षण कम भएको थियो ।

आवश्यक परेमा संक्रमित धेरै भेटिएका क्षेत्र शिल गर्ने, तर सिंगो काठमाडौं उपत्यकामा तत्काल निषेधाज्ञा जारी नगर्न केन्द्रले सहमति जनाएको छ ।