काठमाडौं । विश्वमा धनाढ्य व्यापारी, खेलाडी तथा सेलिब्रेटीका लागि आफ्नै विमान हुनु कुनै नौलो कुरा होइन् । भारतमा समेत यसको व्यवस्था छ ।
सोहीकारण कुनै बेला भारतीय धनाढ्यहरुले नेपालमा निजी विमान ल्याएर पार्क गर्ने गरेको समाचार आइरहन्छ ।
यो सुविधा अब नेपाली नागरिकका लागि समेत उपलब्ध हुने भएको छ । सरकारले हवाई ऐन २०७६ मा निजी वायुयान राख्न पाउने प्रावधान ल्याएको छ ।
नीतिले अब क्षमता हुने मानिसले आफ्नै वायुयान किनेर चलाउन सक्ने भएका छन् ।
‘हामीले राख्न चाहनेका लागि बाटो खेलिदिएका छौं,’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यले भने, ‘कसैले राख्न चाहेमा अब कानून बाधक बन्दैन ।’
अब नेपालमा सिंगल इन्जिन जहाजलाई व्यवसायिक प्रयोजनमा प्रयोग गर्न पाइने छैन् ।
तर, निजी प्रयोजन र तालीमका लागि भने भित्राउन सकिने भएको छ । सरकारले यसका लागि समेत कानून फुकाइदिएको छ ।
यसअघि नेपालमा सिंगल इन्जिन जहाजबाट यात्रु समेत ओसार्न पाउने प्रावधान रहेको थिया ।
सरकारले यो प्रावधानलाई परिवर्तन गरिदिएको हो । हवाई नीतिको अन्तिम मस्यौदा तयार भई सार्वजनिक गरिएको छ । अब यो नीतिलाई मन्त्रालयले क्याविनेट लैजाने भएको छ ।