काठमाडौं । अब वाणिज्य बैंकहरुले लघुवित्त वित्तीय संस्थाको सेयर किनबेच गर्न नपाउने भएका छन् ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा पछि एकीकृत परिपत्रमा संशोधन गर्दै बैंकहरुलाई दोस्रो बजारमा लघुवित्तको सेयर किनबेच गर्न नपाउने व्यवस्था गरेको हो ।
यस्तै, राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सेयर बजारमा लगानी गर्न कडाइ गरेको छ । राष्ट्र बैंकको नयाँ निर्देशन अनुसार अब बैंक तथा वित्तीय संस्थाले धितोपत्रको दोस्रो बजारमा १ वर्षभन्दा कम अवधिका लागि लगानी गर्न नपाउने भएका छन् ।
‘सर्वसाधारणमा सेयर विक्री गरी धितोपत्र विनिमय बजारमा सूचीकृत भइसकेको संगठित संस्थाको सयर तथा डिबेञ्चरमा एक वर्षभन्दा बढी अवधिको लागि मात्र लगानी गर्न पाइनेछ,’ राष्ट्र बैंकको परिपत्रमा भनिएको छ, ‘बैंक तथा वित्तीय संस्थाले कुनै पनि किसिमको प्रबन्धबाट संगठित संस्थाको सेयरमा अल्पकालीन लगानी गर्न पाउने छैनन् ।’
यस्तै खरिद गरेको एकवर्ष व्यतीत भएका लगानी मध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पूँजीको १ प्रतिशत रकमसम्मको लगानीमात्र विक्री गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ । तर, यसअघि २०७८ जेठ १० गतेसम्म लगानी गरेका सयर २०७९ असार मसान्तभित्र विक्री गर्न बाधा नपुग्ने राष्ट्र बैंकले जनाएको छ ।