अब लक्षण नै नदेखिए कोरोना संक्रमित घरमै, बिरामीलाई मात्र अस्पताल भर्ना

काठमाडौं । नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएपछि सरकारले अब बिरामीलाई मात्रै अस्पताल भर्ना गराउने भएको छ।

लक्षण नै नदेखिए कोरोना संक्रमितलाई अस्पताल नलगी क्वारेन्टाइनमै राख्ने तयारी सरकारले गरेको हो। केही दिनयता संक्रमितको दर २ सयभन्दा माथिले उकालो लाग्न थालेपछि सरकारले अब नयाँ विकल्प सोच्न थालेको हो।

अहिलेसम्म कोरोनाको लक्षण देखिएको भनेको स्वासप्रस्वासमा समस्या आउने, ज्वरो आउने, छाती दुख्ने, शरीर थकित महशुस हुने, स्वाद र गन्ध थाहा नपाउने आदि हो।

तर नेपालमा केही संक्रमितमा वान्ता गर्ने समस्या पनि देखिएको छ। अब यस्ता लक्षण नभएका र सामान्य अवस्थामा रहेका संक्रमितलाई घरमै आइसोलेसनमा राख्ने सरकारले तयारी गरेको हो।

देशभरका अस्पतालमा १६ सय संक्रमित मात्रै अट्ने पूर्वाधार तयार पारिएको छ। तर सोमबार कोरोना संक्रमितको संख्या २३९ ले बढेर १८११ पुगिसकेको छ।

यस्तो अवस्थामा व्यवस्थापनमा चुनौती देखेपछि सरकारले लक्षण नै नदेखिएका संक्रमितलाई क्वारेन्टाइनमै राख्ने निर्णय लिन लागेको हो।

स्वास्थ्य मन्त्रालयले एक महिनाअघि नै संक्रमित संख्यालाई मध्यनजर गर्दै संक्रमितको उपचार कसरी गर्ने भनेर कार्यदिशा तय गरेको थियो।

सो कार्यदिशामा संक्रमित संख्यालाई चार वटा समूहमा वर्गीकरण गरी कसरी उपचार गर्ने भन्ने उल्लेख छ।

जसअनुसार सुरूका २ हजार संक्रमित सबैलाई अस्पतालमै भर्ना गरेर उपचार गर्ने भन्ने उल्लेख छ।